लेबनानको राजधानी बेरुतमा भयानक बिष्फोट : कम्तीमा ७० को मृत्यु, हजारौं घाइते

आज राष्ट्रिय शोक दिवस घोषणा


प्रकाशित मिति : 5 August, 2020 6:47 am

काठमाडौं, २१ साउन । लेबनानको राजधानी बेरुतमा भयानक बिष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले कम्तीमा ७० जनाको मृत्यु भएको पुष्टि गर्दै ४ हजार व्यक्ति घाइते भएको जानकारी दिएका छन् । लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् ।

अधिकारीका अनुसार भारी बिष्फोटक पदार्थ भण्डार गरिएको एक गोदाममा बिष्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै २ हजार ७ सय ५० टन बिष्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्विकार्य भएको बताएका छन् । बिष्फोट कसरी भयो यसको अनुसन्धान जारी छ ।

घटनास्थलमा भएका बीबीसी पत्रकारका अनुसार शव छरिएका छन् र भारी क्षति भएको छ । प्रधानमन्त्री हसन दिआबले यसलाई भयावह बताएका छन् र घटनाका दोषीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् ।

उक्त बिष्फोटक नाइट्रेट सन् २०१४ देखि नै भण्डार गरिएको थियो । समाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले वरिपरीका सबै भवन ध्वस्त भएको र चारैतिर सिसा र भग्नावशेष भएको जानकारी दिएका छन् । बिष्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

यो बिष्फोट सन् २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीको हत्याको अनुसन्धान र अदालती सुनुवाईको निर्णय आउनु ठिक अघि भएको हो । बिष्फोट शहरको तटीय इलाकामा भएको हो । अनलाइन पोस्ट गरिएको भिडियोमा बिष्फोटको दृष्य निकै भयानक छ । आगोका लप्का निकै माथिसम्म उठिरहेको देख्न सकिन्छ । स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस्