बाढीले खानीखोला लघु जलविद्युतमा क्षति, उत्पादन बन्द


२१ श्रावण २०७७, बुधबार
bijuli
फाइल फोटो

बागलुङ, २१ साउन । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङमा सञ्चालनमा रहेका लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ । पहिरोले जिल्लाको ढोरपाटन नगरपालिका–६ मा रहेका खानीखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ ।

विद्युत् उत्पादनका लागि बनाइएको कुलोभन्दा १०० मिटर माथिबाट खसेको पहिराले कुलो बगाएपछि विद्युत् उत्पादन बन्द भएको आयोजनाका प्रमुख ज्ञानबहादुर श्रीपालीले जानाकारी दिए ।

चामीद्वारको खानीखोलामा रहेको खानीखोला लघुजलविद्युत् आयोजनाबाट चामीद्वार, खानीखुरिया, काफँलबोट, काम्लोबोट, कसुङबोट र लाकुमका करिब १६७ घरधुरीले विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् आपूर्ति बन्द भएपछि सबै गाउँमा सञ्चार सेवा समेत प्रभावित भएको छ ।

कुखुरा फार्म, साना कुटानी पिसानी मिललगायतका उद्योग समेत बन्द भएका छन् । आयोजनाको कुलो मर्मत गर्न २० दिन लाग्न सक्ने श्रीपालीको भनाइ छ । सबै गाउँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । खानीखोलामा हरेक वर्ष बाढी र पहिरोको प्रभाव पर्ने गरेको छ ।

झरी रोकिएपछि जतिसक्दो छिटो कुलो निर्माण गर्ने आयोजनाले जनाएको छ । जिल्लाको निसीखोला, जैमिनी नगरपालिका र बडिगाड गाउँपालिकामा सञ्चालनमा रहेका लघुजलविद्युत समेत बाढीका कारण प्रभावित छन् । अत्यधिक वर्षा हुँदा मुहान बगाउने, प्रसारण लाइनका पोल पहिरोले बगाउने, पाइपलाइनमा बाढी पसेर थुनिने जस्ता समस्या आयोजनाहरु भोग्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७