कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ


२१ श्रावण २०७७, बुधबार
pakrau
फाइल फोटो

कपिलवस्तु, २१ साउन । कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।

भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी–४ ठकुरापुर गोब्ली बगैंचाबाट मङ्गलबार साँझ पक्राउ परेका हुन् । पक्राउ परेका सोनारको साथबाट एक हजार दरका एक–एक सय थानका १२ गड्डी र ५०० दरका एक–एक सय थानका आठ ग्डडी बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सुनको अवैध कारोवार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम बोकेको हुनसक्ने आशङ्का गरिएको छ ।

यसैबीच कपिलवस्तुको डालपुरस्थित सशस्त्र प्रहरीले ट्रयाक्टरसहित एक ट्रली मटरको दाल नियन्त्रणमा लिएको छ । मङ्गलबार राति करिब ८ बजे ट्रयाक्टरमा लोड गरी भारतीय सीमातर्फ लैजाँदै गर्दा करिब २०० बोरा मटरको दाल र ट्रयाक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कृष्णनगर गुल्मका प्रमुख सुशीलकुमार शाहीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७