नेकपा विवाद चर्किरहेका बेला किन बालुवाटार धाउँदै छन् देउवा ?


२१ श्रावण २०७७, बुधबार
kp oli deuwa

काठमाडौं, २१ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा किन बालुवाटार धाउँदै छन् ? बोहोराटार र महाराजगञ्जमा प्रश्न उठ्दैछ ।

केही दिनअघि देउवा एक्लै प्रधानमन्त्रीनिवास पुगे । त्यो कुरा कसैलाई थाहा भएन । भोलिपल्ट मात्र प्रधानमन्त्री केपी ओलीसँग बसेको फोटो सार्वजनिक भयो, अनि यसको चर्चा बोहोराटारमा चल्यो । वरिष्ठ नेता रामचन्द्र पौडेलले फोटो सार्वजनिक भएसँगै महामन्त्री सशांक कोइरालालाई फोन गरे र सभापति किन बालुवाटार धाइरहेका छन् भनेर सोधे ।

त्यो कुरा महामन्त्री कोइरालालाई थाहा थिएन र पौडेलको जवाफमा भने ‘होइन दाइ, त्यो त अस्ति नै होइन र ?’ घटना हिजोको मात्र रहेछ आज समाचार र फोटो सार्वजनिक भएको छ भनिएपछि उनी पनि चकित परे । अनि कोइरालाको पनि यसैमा चासो बढ्यो र पौडलसँग भने, ‘होइन हाम्रा पार्टी सभापति बारम्बार बालुवाटार किन धाइरहनु भएको छ ?’

आफ्ना सभापतिले प्रधानमन्त्रीलाई सुटुक्क भेट्दा टाउको दुख्नेमा कांग्रेसका प्रकाशमान सिंह र कृष्ण सिटौला पनि हुन् । उनीहरू पनि लुकिछिपी देउवा बालुवाटार पुग्दा सशंकित भएका छन् । प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न जाँदा पार्टीमा छलफल गरेर र अरू कुनै पदाधिकारीका साथमा जानुपर्ने भन्ने रामचन्द्र पौडेलको तर्क थियो ।

उनले अघिल्लो समय देउवा प्रधानमन्त्रीकोमा जाँदा पनि यस्तै आशंका व्यक्त गरेका थिए । तीन साताअघि नेकपा विवादको चरमोत्कर्षमा पुगेका बेला एकाएक प्रधानमन्त्री भेट्दा पनि असन्तुष्ट भएका पौडेलले प्रधानमन्त्रीले प्रचण्डहरूको असहयोग भएमा कांग्रेससँग मिलेर सरकार बनाउन खोजेका र त्यस सरकारमा कांग्रेसले अर्थ र गृह मन्त्रालय मागेको भनेर प्रचार नै गराएका थिए ।

नेकपाको आफ्नो आन्तरिक विवादमा कांग्रेस गएर उल्टै वर्तमान सरकारलाई भरथेग गरेको भनी उनले पार्टी बैठकमै आपत्ति जनाएका थिए । सोही कुराको स्पष्टीकरणका लागि नै देउवाले आफूलाई प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिमा सल्लाहका लागि बोलाएको जवाफ दिएका थिए । त्यसोभए सो नियुक्तिका विषयमा सल्लाह गर्न किन एक्लै गएको ? किन एक्लैले नाम दिने प्रयास गरेको भनेर बैठकमा झगडा गरेका थिए ।

आफू विपक्षीसँग मिलेर सरकारमै रहन सक्ने सन्देश प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका नेतालाई दिन हप्तैपिच्छे देउवालाई बोलाएर भेटेको एकपक्षको अनुमान छ भने अर्काथरीले देउवाले संवैधानिक नियुक्तिमा आफ्ना मान्छे पार्न बल गरेको बताएका छन् ।

आफ्नै पार्टीभित्रका वरिष्ठ नेताहरूसँग पानी बाराबारको अवस्था रहेका बेला प्रधानमन्त्रीले विपक्षी नेतालाई बोलाएर गर्ने भेटको रहस्य भने गहिरै हुनुपर्छ । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७