सिंहदरबार प्रवेशमा कडाइ, भिजिटर पास र इ–पास पनि बन्द


२१ श्रावण २०७७, बुधबार
Singha Darbar

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै कर्मचारी र यसअघि नै पास पाइसकेकाको हकमा भने स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर प्रवेश दिइएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई रोक लगाएको बताएका छन् । उनले अत्यावश्यक काम खुल्ने कागजात देखाएर सर्वसाधारण र प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउने बताए ।

‘संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरबारमा चाप कम गर्न यो निर्णय गरिएको हो’, प्रवक्ता बुढाले भने, ‘अत्यावश्यक काम रोकिँदैन, तर भेटघाट, गफगाफका लागि आउनेलाई भने रोकिएको हो ।’

प्रवक्ता बुढाले अर्को निर्णय नभएसम्मका लागि अब सिंहदरबार प्रवेशका कडाइ गरिएको जानकारी दिएका छन् । उनले सर्वसाधारणका लागि सिंहदरबारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७