सीमा बैठकमा भारतीय पक्षको चलाखी : नेपाली पर्वतको फोटो नेपालीलाई नै ‘उपहार’


२१ श्रावण २०७७, बुधबार
om parvat 27.07.17 2

काठमाडौं, २१ साउन । भारतीय पक्षले नेपाली अधिकारीलाई अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पर्ने ओम (ॐ) पर्वतको फोटो उपहार दिएको छ । सीमा क्षेत्रमा आयोजित दुई देशका अधिकारीको समन्वय बैठकमा उक्त उपहार दिइएको हो ।

सन् २०१८ को सीमा बैठकमा नेपाली अधिकारीहरूलाई ओम पर्वतको फोटो उपहार दिइएको श्रोत बताउँछ । ओम पर्वत भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पर्छ । भारतले भन्दै आएको महाकाली (नक्कली) नदी अर्थात् लिपुखोलाभन्दा पनि पूर्वमा ओम पर्वत छ । दशकौंदेखि नेपाली भूमि गुञ्जी, कालापानी र नाभिढाँग क्षेत्रमा भारतीय सुरक्षाकर्मी क्याम्प बनाएर बस्दै आएका छन् ।

त्यसबेलाको सीमा बैठकमा सहभागी सबै नेपाली अधिकारीलाई ओम पर्वतको फोटो फ्रेमिङसहित उपहार दिइएको थियो । महाकाली नदी नियन्त्रण आयोजना कार्यालयमा उक्त फोटो अहिले पनि झुण्ड्याइएको छ ।

पिथौरागढ बैठकमा सहभागी अन्य निकायका प्रमुखहरूले भने उक्त फोटो कार्यालयमा राखेका छैनन् । ‘सुन्दर तस्बिर भएकाले कार्यालय प्रमुखहरूले आफ्नो आवास वा घरमा पु¥याएका होलान्’ सीमा प्रशासन कार्यालय व्यासमा एक दशकसम्म सेवा गरेका पूर्व नायब सुब्बा भवान सिंह ठगुन्नाले भने ।

उपहारस्वरूप प्राप्त फोटोमा ‘जिला प्रशासन पिथौरागढ, सप्रेम भेट’ लेखिएको छ । सन् २०१८ मा नेपाल–भारतका अधिकारीबीच दुई पटक सीमा बैठक बसेको थियो । २०७४ फागुन २१ गतेको बैठकमा नेपाली पक्षको नेतृत्व दार्चुलाका तत्कालीन प्रजिअ जनार्दन गौतमले गरेका थिए भने भारतीय पक्षबाट पिथौरागढका डिएमसी रविशंकर आएका थिए ।

त्यसपछि १२ जुलाई २०१८ अर्थात् २०७५ असार २८ गते दार्चुला सदरमुकाम खलंगामा सीमा बैठक बस्यो । जसमा नेपाली पक्षको नेतृत्व तत्कालीन प्रजिअ खुमकान्त आचार्यले गरेका थिए भने भारतीय पक्षबाट उनै रविशंकरले भाग लिए । अन्य बैठकमा भारतको धारचुला तहसिलअन्तर्गत नारायण आश्रम मन्दिर, मुनस्यारी तहसिलमा पर्ने पञ्चाचुली हिमाल र नैनीताल शहरको फोटो उपहार दिइएको छ ।

पछिल्लो पटक २०७५ चैत १७ गते पिथौरागढमा सम्पन्न बैठकमा भारतीय पक्षले हस्तकलाबाट निर्मित फूलको तस्बिर फ्रेमिङसहित उपहार दिएको अभिलेख छ । उक्त बैठकमा नेपाली पक्षको नेतृत्व सिडिओ शंकरबहादुर विष्ट र भारतीय पक्षको नेतृत्व पिथौरागढका डिएम डा. विजयकुमार जोगदण्डेले गरेका थिए ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय, जिल्ला प्रहरी कार्यालय र महाकाली नदी नियन्त्रण कार्यालयमा भारतीय पक्षले दिएका उपहारहरू टाँसिएका छन् ।

सन् २०१६ नोभेम्बरको जौलजीवी मेलामा पनि नेपाली अधिकारीलाई ओम पर्वतको फोटो उपहार दिइएको थियो । जिल्ला प्रहरी कार्यालय परिसरमा त्यसबेला प्राप्त ओम पर्वतकै फोटो अहिले पनि राखिएको छ ।

‘सुरक्षाकर्मी मात्र होइन, प्रशासनिक र नागरिकस्तरबाट पनि नेपाली भूमि कब्जा भइरहेको छ’, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिंह धामीले भने । भारतको धारचुला बजार क्षेत्रमा समेत ओम पर्वतको फोटो राखिएको छ । उत्तराखण्डमा पर्ने चारधामको तस्बिरसँगै ओम पर्वत र कैलाश पर्वतको फोटो सार्वजनिक स्थानमा राखिएको छ । कैलाश पर्वत चीनको भूमिमा पर्छ ।

ओम पर्वतलाई भारतीय पक्षले आफ्नो भूमिमा पर्ने प्रमुख धार्मिकस्थल भन्दै प्रचार गरिरहेको छ ।
सीमा बैठकमा नेपाली पक्षले भने पशुपतिनाथको मन्दिर र दार्चुलाको प्रसिद्ध मालिकार्जुन मन्दिरको फोटो उपहार दिएको थियो । एउटा बैठकमा भारतीय अधिकारीलाई नेपालीको वीरताको चिनो ‘खुकुरी’ नै उपहार दिइएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए ।

नेपाल–भारतका अधिकारीबीच पछिल्लो बैठक चैत पहिलो साता बैतडीको सदरमुकाम गोठालापानीमा बसेको छ । पिथौरागढ जिल्लासँग सीमा जोडिएकाले दार्चुला र बैतडीका अधिकारी सीमा बैठकमा सहभागी हुने गर्छन् । पछिल्लो बैठकमा भारतले नेपाली अधिकारीलाई गलबन्दी र नेपाली अधिकारीले काष्ठकलाको आकृति उपहार दिएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७