विकास मल्ल राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त


२१ श्रावण २०७७, बुधबार
Bikash Malla

काठमाडौँ, २१ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो ।

तेह्र वर्षसम्म राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका मल्ल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान एवं गोलकिपरसमेत हुन् । मल्लले सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टोलीबाट फुटबल खेलकाे थिए ।

मल्ल एन्फा एकेडेमीको उत्पादन हुन । उनले राष्ट्रिय टोलीमा जापानी गोलकिपर प्रशिक्षक हिरो मिट्सुमारूको स्थान लिने एन्फाले जनाएको छ ।

मल्लले एएफसी लेभल १ गोलरक्षक प्रशिक्षण सर्टिफिकेट र एएफसी सी प्रशिक्षक सर्टिफिकेट कोर्ष पूरा गरेका छन् । उनी फिफा एमए गोलरक्षक कोर्षमा समेत सहभागी रहेका थिए । मल्लले आर्मीको मुख्य प्रशिक्षण नविन न्यौपानेको अनुपस्थितिमा आर्मीको दोस्रो टोलीको प्रशिक्षण सम्हालेका छन् ।

मललाई नेपालको सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोटका बाँकी ३ खेलका लागि जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । सुरुवाती ५ खेलमा १ जित निकालेको नेपाल ५ राष्ट्र सम्मिलित समूहको चौथो स्थानमा छ । नेपालले एकमात्र जितको रुपमा ताइपेइको मैदानमा २-० को जित निकालेको थियो ।

फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ लाई ध्यानमा राख्दै मल्ललाई गोलकिपर प्रशिक्षकका रुपमा छनोट गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७