कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने


२२ श्रावण २०७७, बिहीबार
rastriya pariksha board ikHmu46Hn6

काठमाडौं, २१ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा फाराम भरेकाको पैसा फिर्ता गर्ने भएको छ। कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि विद्यार्थीको पैसा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने बोर्डले जनाएको छ।

तर परीक्षाको लागि लिएको ६ सय रुपैंया मध्ये प्रति विद्यार्थी चार सय मात्रै फिर्ता दिने निर्णय बोर्डले गरेको छ। दुई सय रुपैंया परीक्षाको तयारी तथा प्रश्नपत्र छपाइ लगायतमा खर्च भएकोले फिर्ता दिन नसकिने बोर्डको भनाइ छ। उक्त रकम विद्यार्थीको कक्षा १२ को परीक्षा फाराम भर्ने समयमा मिनाहा गर्ने पनि बोर्डले जनाएको छ।

बोर्डले जारी गरेको सूचनामा भनिएको छ,‘कक्षा ११ को परीक्षा सञ्चालन व्यवस्थापन, मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा व्यवस्था भएअनुसार कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन विद्यालले नै गर्ने भएकाले २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुनका लागि परीक्षा शुल्क बोर्डमा बुझाइसकेका विद्यार्थीहरूको शुल्क ६ सयमध्ये परीक्षा सञ्चा‍लन तयारीका क्रममा भएको खर्चबापत दुई सय कट्टा गरी बाँकी चार सय नियमित परीक्षार्थीका हकमा आगामी वर्ष सञ्चालन हुने कक्षा १२ को परीक्षा शुल्कमा समायोजन हुनेछ।’

आंशिक ग्रेड वृद्धि परीक्षार्थीहरूको हकमा बोर्डले सञ्चालन गर्ने वार्षिक परीक्षा सहभागी हुने भएमा सोही परीक्षा शुल्कमा समायोजन गर्ने र परीक्षामा सहभागी हुन नपर्ने विद्यार्थीहरूको हकमा कक्षा १२ को प्रमाण–पत्रको शुल्कमा समायोजन गर्ने सूचनामा उल्लेख छ।

बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भने आफैँ सञ्चालन गर्दैछ। कक्षा ११ को परीक्षा भने सम्बन्धित विद्यालयले सञ्चालन गर्नेछन्। पुरक तर्फका विद्यार्थीको शुल्क ट्रान्सकिप्ट लिने बेला मिलान गरिनेछ। बोर्डले परीक्षा सञ्चालन गर्दा परीक्षा आवेदन बापत ६ सय र रजिस्ट्रेसन शुल्क बापत ४ सय गरी प्रति विद्यार्थी १ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो।

यो वर्ष ११ कक्षामा जम्मा ५ लाख ३२ हजार विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए। बोर्डमा कक्षा ११ को परीक्षा शुल्क रजिस्ट्रेसन बापत ५३ करोड २० लाख रुपैयाँ जम्मा भएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७