सशस्त्रले घर भत्काई दिएपछि त्रिपालमा पुगेका सुकुमबासीको हात्तीले लियो ज्यान

नजिकै रहेका सशस्त्रले सहयोग गरेनन्


२४ श्रावण २०७७, शनिबार
hattiko aakraman ma mrityu 5.jpg .2020 08 08

झापा, २४ साउन । गत फागुन अन्तिम साता सशस्त्र प्रहरीले घर भत्काई दिएपछि त्रिपालको वासमा पुगेका एक सुकुमबासीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । कमल गाउँपालिका–५ स्थित ५२ वर्षीय सुकुमबासी रोहित रेग्मीको बिहीबार मृत्यु भएको हो ।

१५ वर्षदेखि सोही स्थानमा बस्दै आएका ५२ सुकुमबासी परिवारका घर गत फागुन अन्तिममा सशस्त्र प्रहरीले भत्काई दिएको थियो । घर भत्काइएपछि पनि रेग्मी त्रिपाल टाँगेर सोही स्थानमा बस्दै आएका थिए । बिहीबार राति आएको हात्तीले उनलाई लखेटीलखेटी मारेको श्रीमती नीरमायाले बताइन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले हात्तीले टहरामा रहेको खाद्यान्न पनि नष्ट गरेको जानकारी दिए । ‘मध्यरात १२ बजेतिर हात्ती आइपुगेको थियो । त्यसपछि सबै भाग्न थाल्यौँ,’ नीरमायाले भनिनँ, ‘बिजुली नभएकाले को कता भागे भन्ने थाहा भएन । हात्तीले श्रीमानलाई मारेछ ।’

सशस्त्रले नै बसाएको थियो बस्ती

१५ वर्षदेखि उक्त स्थानमा ५२ घरपरिवार बस्दै आएका थिए । अन्य ठाउँमा जग्गा नभएका उनीहरूले जग्गामा खेती गरेबापत सशस्त्र प्रहरीलाई ठेक्का बुझाउँथे । ०६० तिर तत्कालीन माओवादीको सशस्त्र युद्ध उत्कर्षमा थियो ।

सशस्त्र प्रहरीले रतुवामाई वृक्षरोपण आयोजनाको जग्गा भोगाधिकार लिई पाथिभरा गण स्थापना गरेको थियो । विद्रोही माओवादी आक्रमणको डरले गणलाई बाहिरी घेरा हुने गरी ८० बिघा जग्गा भोगचलन गर्न दिएर त्यहाँ सुकुमबासी परिवारलाई राखिएको थियो ।

प्रहरीको सुरक्षाका लागि राखिएका उनीहरू शान्ति–प्रक्रिया टुंगिएसँगै अवैध ठहरिए । पछिल्लो दुई वर्षयता उनीहरूलाई त्यहाँबाट हट्न सशस्त्रले दबाब दिँदै आएको थियो । तर, अन्यत्र कतै जग्गा जमिन नभएका उनीहरूले हट्न मानेनन् ।

गत फागुन अन्तिम साता उनीहरूले बनाएका सबै टहरा भत्काइदिएर सशस्त्र प्रहरी बलले घरबारविहीन बनाइदियो । त्यसयता त्रिपाल टाँगेर ३४ घरपरिवार त्यस क्षेत्रमा बस्दै आएका थिए ।

रेग्मीले त्रिपालमुनि जसोतसो बर्खेझरी र गर्मी धानेकै थिए । तर, उनको टहराले हात्ती छेक्न सकेन । ‘यो त हात्तीले मारेको भन्दा पनि राज्यले मारेको हो । हाम्रो पुरानो घर भएको भए त कम्तीमा ज्यान त बच्थ्यो नि,’ सुकुमबासी उर्मिला बराइलीले भनिन्, ‘सुरुमा बिजुली थियो, कहाँ जाने भनेर भाग्न सकिन्थ्यो । अहिले बिजुली पनि काटेको छ । भाग्ने ठाउँ नदेख्दा दाइ (रोहित) ले ज्यान गुमाउनु भयो ।’

hattiko aakraman ma mrityu 1.jpg .2020 08 08

नजिकै रहेका सशस्त्रले सहयोग गरेनन्

छेउमै सशस्त्र प्रहरीको क्याम्प छ । त्यहाँका पोस्टमा २४ घण्टे ड्युटी गरिन्छ । तर, हात्ती आएर रातभर आतंक मच्चाउँदा सशस्त्र प्रहरी सहयोगमा निस्किएन । ‘सशस्त्रहरू नजिकै ड्युटीमा थिए ।

जंगली हात्तीले आक्रमण गर्न थाल्यो भनेर कति पटक भन्यौं, तर सुनेको–नसुन्यै गरे,’ ७५ वर्षीय गणेश भण्डारीले भने, ‘गत फागुनमा उनीहरूले नै घर त भत्काई दिए । सबै सामान पनि सबै लगे । टहरा बनाएर बसेको पनि देखिसहेका छैनन्, त्यो पनि भत्काई दिन्छौं भन्दै छन् । अहिले हात्तीले आक्रमण गर्दा पनि सहयोग गरेनन् ।’

पटक–पटक सशस्त्रले खेदाउँदा पनि त्यहीं बसेका उनीहरू अहिले घाम र पानी समेत नछेक्ने त्रिपालमुनि बसेका छन् । कहीं जाने ठाउँ नभएकाले यही बस्नुपरेको पीडा वृद्ध भण्डारीले सुनाए । ‘हाम्रो कहीं जग्गाजमिन छैन । भएको घर सशस्त्र प्रहरीले भत्काइदिए,’ उनले भने, ‘हामी पनि यो देशका नागरिक हौँ । तर, सरकारले हामीलाई हेरेन ।’

सुकुमबासीले गुमाए अगुवा

हात्ती आक्रमणमा परी ज्यान गुमाएका रेग्मी त्यहाँ बसेका सुकुमबासीका अगुवा थिए । सशस्त्र प्रहरीसँगको आन्दोलनमा उनले नेतृत्व गर्दै आएका थिए । ‘उहाँले नै हाम्रो कुरा उठाउँदै आउनु भएको थियो । वडाध्यक्ष, सशस्त्र प्रहरीका अधिकारीहरू रोहितलाई मिलाउन पाए हुन्थ्यो भन्थे,’ वृद्धा नन्दमाया चापागाईंले भनिन्, ‘उनी नै मरे । अब हाम्रो उठिवास लाग्ने भयो ।’

टहरामुनि बसेकालाई हात्तीले पटकपटक दुःख दिँदै आएको छ । सशस्त्र प्रहरीले घर भत्काएदेखि उनीहरू असुरक्षित रूपमा बस्दै आएका छन् । रातभर पानी पर्दा त्रिपाल समाएर ओत लाग्ने उनीहरूलाई प्रत्येक दिन हात्तीले दुःख दिन्छ । ‘अस्ति हात्तीले निधारमा चोट लगाएर गयो,’ स्थानीय पवित्रा लिम्बूले भनिन्, ‘फेरि कुन दिन आएर मार्ने हो, जोखिम मोलेरै भए पनि बस्नुपरेको छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७