पुरूष साथी (कविता)


२४ श्रावण २०७७, शनिबार
bhawana 1

पुरूष साथी (कविता)

भोगको ‘ग’ हटाएर
‘क’ थपे जस्तै भोकका लागि डट्ने
भोजमा ‘न’ थपे जस्तै
भोजनका लागि खट्ने
चोरको ‘र’ हटाएर ‘खो’ थपेर जस्तै
चोखो मायाको खातिर
कर्तव्यलाई काँधमा बोकेर
ओठमा जिम्मेवारीको हाँसो हाँस्ने
एउटा हिमाल मेरो समीप छ
मसँग एउटा पुरूष साथी छ

जिन्दगीको घाम–पानी
आँधी–हुरीबाट बच्न
हाम्रो मनभित्र
सम्बन्धको एउटा सुन्दर घर छ
घरको मूल खाँबो जस्तो विश्वास
घरको भित्ताहरू जस्तो अठोट
डाँडाभाटाको बन्धनहरू जस्तो प्रतिबद्धता
घरको छानो जस्तो सुरक्षा
घरको दैलो जस्तो स्वतन्त्रता
घरको झ्याल जस्तो मितव्ययिता
पोतेर–लिपेर सफा पारे जस्तै सफा मन
अविरल बग्ने मायाको हिउँ नदि छ
मसँग एउटा पुरूष साथी छ

यहि घरको अगेनामा बल्छ
एउटा आस्थाको आगो
घुर्यानमा सिमीको लहरा थांग्रामा बेरिए जस्तै
फूलबारीमा फूलको रक्षक काँडा भए जस्तै
सम्झौताहरूमा प्रतिबद्ध छ
मसँग एउटा पुरूष साथी छ

चन्द्ररूपी मुहारमा एसिड छ्यापिँदा
दोषको अगाडि धुनी थपेर
निर्दोष बनाइएको जस्तो होइन
एसिड पखाल्ने पानी जस्तो
डढेको छाला फेरि जगाउने औषधि जस्तो
आँखैमा राख्दा नबिझाउने लालगेडी जस्तो
अन्धकारमा बाटो देखाउने राँको जस्तो
मेरो सुख दुःखको सहयात्री छ
मसँग एउटा पुरूष साथी छ

डान्स बार, नाइट क्लव, क्यासिनो
नोटको चल्तीफिर्ती
शरीरको किनबेच
मदिराको उन्माद
सबै–सबै फगत मान्छ
जीवन अनुशासन र स्वाभिमान ठान्छ
निकम्मा हावाहरूले नछुने छ
मसँग एउटा पुरूष साथी छ

जीवनलाई सरल स्वभावले
गम्भीर मुडमा एकफेर सोच्दा
चम्किलो रङ्गिन छ जीन्दगीको रङ
आवरण भन्दा विचार र कर्म हो पहिचान
जीवन जीवनझै हुँदा त हुन्छ सम्मान
जीवनमा मायाको रङ्ग भरिदिने
कठिनाईहरू सँगसँगै सधै जुध्ने
समानताको सोच सँगै
सहअस्तित्वको भाव माथि छ
मसँग एउटा पुरूष साथी छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७