सौराहामा होटल खुले, ग्राहक आएनन्


२४ श्रावण २०७७, शनिबार
souraha

चितवन, २४ साउन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निरास भएका छन् । होटल खुलेसँगै एक–दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् ।

विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साह साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउँछन् । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन वटा कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए ।

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भने, ‘होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन् ।’ सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए ।

घिमिरेले थपे, ‘हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ । बास बस्न ग्राहक आउँछन् भन्ने थियो त्यो पनि भएन ।’ आउँदो भदौ १ गतेबाट आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताए ।

होटलसँगै रेष्टुराँ पनि खुलेका छन् तर ग्राहक छैनन् । रेष्टूराँ एण्ड बार एशोसिएशन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताउँछन् ।

लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निरास भएको उनको भनाइ छ । शुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँ ठाउँमा कोरोना बढ्दै गएपछि त्रासले ग्राहक नआएको उनको भनाइ छ ।

सौराहामा १०० हाराहारी रेष्टुराँ छन् । जसमध्ये ५६ वटा रेवानका सदस्य हुन् । आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन् । सौराहामा होटलको संख्या ११० वटा रहेको छ जहाँ पाँच हजार ५०० हाराहारी कर्मचारी कार्यरत रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । कोरोनापछि लकडाउनसँगै बन्द भएका होटल साउन १५ गतेबाट सञ्चालनमा आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७