केरला विमान दुर्घटनामा मृत्तकको संख्या १८ पुग्यो, दुई टुक्रा भएको थियो विमान


२४ श्रावण २०७७, शनिबार
air india

नयाँदिल्ली, २४ साउन । भारतमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको संख्या १८ पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरु कैयौं यात्रु घाइते पनि भएका छन् ।

एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा परेको मलापुरम जिल्लाका जिल्ला अधिकारी के गोपाल कृष्णले बताए । शुरुमा १७ जनाको मृत्युको खबर आए पनि घाइतेमध्ये थप एक जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १८ पुगेको हो ।

मृतकमध्ये एक जना बाहेक अन्य सवैको शव चिन्न नसकिने गरी जलेर नष्ट भएको पनि घटनास्थलमा पुगेकाहरुले जनाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।

घटनामा परी विमान चालक दीपक साथे र उनका सह चालक अखिलेश कुमारको पनि मृत्यु भएको छ । विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए । घाइतेहरूलाई उपचारका लागि क्यालिकट तथा मलापुरममा रहेका अस्पतालहरूमा पुर्‍याइएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइतेहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारी फैलिएपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका भारतीय नागरिकहरू स्वदेश ल्याउदै गरेको विमान दुर्घटनामा परेको हो । युएइको दुवईबाट शुक्रबार राति भारत आउदै गरेको विमान अवतरण गर्ने बेलामा अत्यधिक बर्षाका कारण धावनमार्ग चिप्लो भएकाले धावनमार्गमा चिप्लीएर दुर्घटना भएको प्रारम्भीक विवरण छ ।

वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए भने दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको हो । दुर्घटना स्थानीय समयानुसार शुक्रबार बेलुका ७.४० मा भएको हो ।

सरकारी अधिकारीहरुले ठूलो वर्षा भइरहेका बेला विमान धावनमार्गमा ठोक्किएको र त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेर दुई टुक्रा जनाएका छन् । दर्दनाक दुर्घटना भएको थाहा पाउने वित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनामा प्रियजन गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले छानविन गर्ने जानकारी दिएका छन् । भारतमा बर्षायाममा धेरै विमान दुर्घटनामा पर्ने र सयौंको मृत्यु हुने गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । पिटिआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७