भ्रष्टाचारको आरोप लागेका स्पेनका पूर्व राजाले छाडे देश, पुगे दुबई


२५ श्रावण २०७७, आईतवार
Spainish exKing Karlos

काठमाडौं, २५ साउन । स्पेनका पूर्व राजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स (युएई) पुगेको दाबी गरिएको छ ।

एउटा भ्रष्टाचारको मामलामा आफ्नो नाम मुछिएपछि देश छोड्ने निर्णय गरेको पूर्व राजा कार्लोस विशेष विमान मार्फत युएईमा अवतरण गरेको तस्वीर सार्वजनिक भएको छ ।

स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्वीरमा पूर्व राजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिन्छ ।

गत सोमबार स्पेनिस राजदरबारले कार्लोसले देश छाड्ने निर्णय गरेको जनाएको थियो । केही हप्ताअघि शुरु भएको भ्रष्टाचार अभियोगको अनुसन्धानमा कार्लोसको नाम पनि मुछिएपछि एकाएक उनले देश छाड्ने घोषणा गरेको जनाइएको थियो ।

आफूले कुनै गलत काम नगरेको दाबी गरेका कार्लोसले आफू अन्तर्वार्ताका लागि तयार रहेको बताएका छन् । ८२ वर्षीय पूर्व राजा कार्लोसले वर्तमान राजा छोरा फेलिपेलाई पत्र लेखेर देश छोड्ने जानकारी दिएका थिए । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए ।

उनले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीले अन्तर्वार्ता गर्न चाहे आफू तयार रहेको पनि बताएका थिए । गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ख्वानको संलग्नताबारे अनुसन्धान थालेको थियो ।

स्पेनलाई अधिनायकवादबाट निकै कुशलतापूर्वक प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन मानिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७