उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार १३६ पुग्यो


२५ श्रावण २०७७, आईतवार
kathmandu valley 2nd ring rode

काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ९२ जना कोरोना संक्रमित थपिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ९० जना र ललितपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ९१० जना पुगेको छ भने ललितपुरमा १३९ जना पुगेको छ । भक्तपुरमा हालसम्म ८५ जनामा कोरोना संक्रमित छन् ।

आज नेपालमा कोरोना संक्रमण पुष्टि भएका ३८० जनामध्ये काठमाडौं उपत्यकाका ९२ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन् । बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा बढिरहेको छ ।

सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ । बिहीबार बिहानदेखि लागू हुनेगरी सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ ।

त्यस्तै आजदेखि लागू हुने गरी उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएका छन् । आज (आइतबार) संक्रमण पुष्टि भएका ३८० सहित नेपालमा कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७