बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन : बैंकहरुमा फेरि ‘वर्क फ्रम होम’ लागू गर्नु


२५ श्रावण २०७७, आईतवार
rastra bank

काठमाडौं, २५ साउन । फैलँदो कोरोना संक्रमणको असर बैंकिङ क्षेत्रमा फेरि सुरु भएको छ । उपत्यका लगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बैंकिङ क्षेत्रका कर्मचारीमा समेत त्यस्तो संक्रमण देखिन थालेपछि यो क्षेत्र फेरि प्रभावित हुन लागेको हो ।


आइतबारमात्रै उपत्यकास्थित एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको खबरपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई फेरि ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै त्यस्तो निर्देशन दिएको हो । सो निर्देशनमा नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई पालना गर्दै सेवा प्रवाहमा निरन्तरताको लागि विजनेस कम्युनिटी प्लान तयार गर्दै आवश्यकता अनुसार आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै राष्ट्र बैंकले सरकारले विभिन्न स्थानमा लागु गरेको लबडाउन, निषेधाज्ञा, सवारीसाधनको जोरबिजोर प्रणालीलाई समेत मध्यनजर गर्दै फेरि वर्क फ्रम होम व्यवस्था मिलाएर कार्यसम्पादन गराउन भनिएको छ ।


राष्ट्र बैंकले प्रदेश सरकार, स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई समेत ध्यानमा राखेर आलोपालो गरी बैंक तथा वित्तीय सेवा सुचारु गर्न समेत बैंकहरुलाई भनेको छ । साथै यो समयमा विद्युतीय कारोबारहरुलाई थप प्रोत्साहित गर्दै जान समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७