महिन्दा राजपाक्ष चौथोपल्ट श्रीलंकाका प्रधानमन्त्री


२६ श्रावण २०७७, सोमबार
09bfbf48f7e842f68836be808664b374 09bfbf48f7e842f68836be808664b374 98c91787c63149879659a8fd0b9d4869
Sri Lanka’s former President Mahinda Rajapaksa, center, speaks with well wishing Buddhist monks after he was sworn in as the prime minister at Kelaniya Royal Buddhist temple in Colombo, Sri Lanka, Sunday, Aug. 9, 2020. (AP Photo/Eranga Jayawardena)

कोलम्बो, २६ साउन । श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपाक्ष चौथोपल्ट प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् । उनले राष्ट्रपति गोटाभया राजपाक्षसँग आइतबार प्रधानमन्त्री पदको शपथ लिएका हुन् । महिन्दा वर्तमान राष्ट्रपति गोटाभयाका दाइ हुन् ।

७४ वर्षीय महिन्दाले उत्तरी कोलम्बोस्थित ऐतिहासिक केलानिया बौद्ध मन्दिरमा आयोजित कार्यक्रममा भाइ गोटाभया राजपाक्षसँग शपथ लिएका हुन् । शपथ लगत्तै दुवै दाजुभाइले राजमहा विहारमा प्रार्थना गरेका थिए ।

अगस्ट ५ मा भएको संसदीय चुनावमा आफ्नो दल श्रीलंका पोडुजना पेरामुना (एसएलपीपी) विजयी भएसँगै उनी पुनः प्रधानमन्त्री बनेका हुन् । २२५ सदस्यीय संसदमा राजपाक्ष नेतृत्वको गठबन्धनले दुई तिहाइ सिट जितेको छ । एसएलपीपी एक्लैको भने १४५ सिट छ ।

प्रमुख प्रतिपक्षी दल एसजेबी ५४ सिटमा सीमित भएको छ । तमिल अल्पसंख्यकलाई नेतृत्व गर्ने दल १० सिटमा विजयी भएको छ । त्यसैगरी अन्य १२ साना दलले १६ सिट जितेका छन् । श्रीलंकाको राजनीति पछिल्ला दुई दशक राजपाक्ष परिवारमा केन्द्रित छ ।

दुई तिहाइ मत ल्याएसँगै अब श्रीलंकाली राजनीतिमा उनीहरूको पकड थप बलियो हुने आकलन राजनीतिक विश्लेषकहरूको छ । चुनावी नतिजासँगै गोटाभया राजपाक्षले सन् २०१५ को संविधानले सीमित पारेका राष्ट्रपतीय अधिकार पुनःस्थापित गर्ने अनुमान लगाइएको छ । श्रीलंका सन् १९७८ देखि कार्यकारी राष्ट्रपतिद्वारा शासित रहिआएको थियो ।

तर सन् २०१५ मा भएको संवैधानिक सुधारअनुसार संसद् र प्रधानमन्त्रीलाई थप अधिकार दिइनुका साथै न्यायिक नियुक्ति, प्रहरी, सार्वजनिक सेवा र चुनावसम्बन्धी निर्णयको अधिकार स्वतन्त्र आयोगले गर्ने व्यवस्था गरिएको थियो ।

तर पछिल्लो ऐतिहासिक जितसँगै उक्त आयोगको भूमिका कमजोर हुने आकलन गरिएको छ । गोटाभया राजपाक्ष गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका हुन् । त्यसलगत्तै उनले आफ्ना दाइलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । संसदीय चुनावमा महिन्दाका छोरा नमल राजपाक्ष पनि विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७