भारत जोधपुरमा एकै परिवारका ११ जना मृत फेला, घटना रहस्यमय


२६ श्रावण २०७७, सोमबार
jodhpur

भारत, २६ साउन । भारतको राजस्थानस्थित जोधपुर जिल्लामा एकै परिवारका ११ जना मृत भेटिएका छन् । उनीहरूको हत्या भएको आशंका गरिएको छ ।

पास्कितानबाट विस्थापित उनीहरूको शव जोधपुर जिल्लाको देचु थाना क्षेत्रको खेतमा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छेउमा विषका बोतल र सुई पाइएको स्थानीय प्रहरीले जनाएको छ ।

पहिले खानामा निद्रा लाग्ने औषधि हालेर खुवाएको र त्यसपछि सबैको हातमा विषयुक्त सुई लगाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । परिवारका एक जना ३७ वर्षका केवल राम मात्रै बाँच्न सफल भएका छन् । उनी छुट्टै सुतेकाले बाँचेको बताइएको छ ।

उनीहरूको हत्या आफ्नै छोरी ३८ वर्षीया लक्ष्मीले गरेको आशंका प्रहरीले गरेको छ । किनकी परिवारमा उनी नै सुई लगाउन जान्ने अर्थात् नर्सिङ पढेकी थिइन् । उनैले परिवारका १० सदस्यको हातमा विषयुक्त सुई लगाएर पछि आफूले पनि खुट्टामा सुई लगाएको अनुमान प्रहरीले गरेको छ । उनको पनि मृत्यु भएको छ ।

उनको बिहे जोधपुरमै भएको थियो तर उनी माइतमै बस्ने गरेकी थिइन् । पारिवारिक कलहका कारण हत्या तथा आत्महत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७