‘सरकारले कोरोनाबाट बचाउँछ भन्ने नसोचौं, कसरी हुन्छ आफै जोगिऔं’


२६ श्रावण २०७७, सोमबार
prakash saran mahat825 surenpc

काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भइसकेको बताएको छ ।

कांग्रेसले गठन गरेको कोभिड–१९ सम्बन्धी अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरू पूर्णरूपमा असफल देखिएको जानकारी गराउँदै दिनहुँ महामारी भयावह बनिरहेका बेला नागरिकलार्य आफै सुरक्षित हुन आग्रह गरेको छे ।

कोरोना महामारी नियन्त्रणमा सरकार असफल रहेको र सरकारले बचाउँला भनेर सोच्ने भन्दा कसरी आफू सुरक्षित हुन सकिन्छ भन्नेतर्फ सचेत रहन कांग्रेसले नागरिकलाई आग्रह गरेको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आज (सोमबार) पत्रकार सम्मेलन गरेर समितिका संयोजक प्रकाशशरण महतले सरकारले सुरक्षित गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गरे । उनले भने, ‘सरकारले काम गर्ला र हामी सुरक्षित हौंला भनेर नबसौं । आफूले आफैंलाई सुरक्षित गर्नुपर्‍यो । आफैं सुरक्षित हुने तरिका खोज्नु पर्‍यो । आफ्नो सहपाठी, साथीभाइ, टोल छिमेकलाई सुरक्षित रहन र सचेतना अभियानलाई अगाडि बढाउन सबैलाई आह्वान गर्छौं ।’

महतले मास्क लगाउन, भौतिक दूरी अनिवार्य रूपमा कायम गर्न, स्यानेटाइजर प्रयोग गर्न र अनावश्यक रूपमा बाहिर हिंडडुल नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

सरकारलाई तत्काल कोरोना नियन्त्रणको जिम्मेवारी प्रभावकारी नेतृत्वलाई दिन पनि महतले आग्रह गरेका छन् । सरकारले स्वास्थ्य मन्त्रालयमा योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गर्दा नेतृत्व प्रभावकारी नदेखिएको उल्लेख गर्दै उनले वरिष्ठता र व्यवसायिकताका आधारमा मन्त्रालयमा जिम्मेवारी दिन आग्रह गरेका छन् ।

समितिले आवश्यक संख्यामा भेन्टिलेटर, अस्पताल बेड, आइसियू कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरूको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । स्वास्थ्यकर्मी र संलग्न सहयोगीहरूको हौसला कायम राख्न, कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्थान गर्न पनि समितिले सरकारसँग माग गरेको छ ।

लकडाउन खुला भए पनि आर्थिक, सामाजिक क्षेत्र पूर्णरूपमा सूचारु हुने अवस्था नरहेकाले यी क्षेत्रमा जोखिम न्यून गर्न सरकार गम्भीर हुन समितिले आग्रह गरेको महतले बताएका छन् । सीमा प्रवेशमा कडाई गर्नुपर्ने, सम्भावित संक्रमित ठाउँहरूको सघन अनुगमनका आधारमा परीक्षणको दायरा व्यापक बनाउनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।

पूर्ण लकडाउन देशले धान्न सक्ने अवस्था नभएकाले परीक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरूका लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । खाडी देशहरूमा रोजगारी गुमाएर, भिसा अवधि सकिएकालाई तत्काल स्वदेश फिर्ता गर्न र आर्थिक अभावमा रहेका नागरिकलाई सहयोग गर्न सम्बन्धित कूटनीतिक निकायलाई परिचालन गर्न पनि समितिले माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७