लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द


२७ श्रावण २०७७, मंगलवार
bus

काठमाडौं, २७ साउन । सरकारले लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था भदौ मसान्तसम्म नखोल्ने भएको छ ।

यसअघि १ भदौबाट खोल्ने भनिएका यी क्षेत्र मसान्तसम्म नखोल्ने गरी सरकारको निर्णय आएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको जोखिम बढेको भन्दै लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था सञ्चालनबारे नयाँ निर्णय लिएको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलाउने र लामो दूरीका यातायात पनि सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समिति (सिसिएमसी) ले १ भदौबाट खुलाउने भनेका क्षेत्रलाई १५ भदौसम्म बन्द गर्न प्रस्ताव गरेको थियो ।

र, सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थप १५ दिन समय थपेर लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गराएका हुन् ।

‘सिसिएमसीले सिफारिस गरेका सबै प्रस्तावलाई भदौ मसान्तसम्म पुर्‍याइएको छ,’ ती मन्त्रीले भने । बैठकले भदौ मसान्तसम्म सीमानाकाहरू बन्द गर्ने निर्णय लिएको छ । सरकारले दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लालाई उच्च निगरानीमा राख्दै ती जिल्लामा अत्यावश्यक बाहेकका सवारीसाधनको आवतजावत पनि बन्द गर्ने निर्णय पनि गरेको छ ।

सरकारले गत साता मात्रै काठमाडौैं उपत्यकाको हकमा सार्वजनिक र निजी दुवै सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको छ । सरकारले ६ साउनको रातिदेखि लकडाउन अन्त्यको घोषणा गरे पनि हवाई र लामो दूरीमा सडक यातायात भने विगत पाँच महिनादेखि बन्द छन् । गत चैत ११ देखि सरकारले लकडाउन घोषणा गर्दै सबै क्षेत्र बन्द गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७