मालपोत स्थानीय तहमा गएपछि संघीयता कार्यान्वयन सहज


२७ श्रावण २०७७, मंगलवार
malpot

काठमाडौं, २७ साउन । जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण हुन थालेपछि सङ्घीयता कार्यान्वयनले थप गति लिएको छ ।

सोमबार कलङ्की मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा नागार्जुन नगरपालिकामा हस्तान्तरण गर्दै भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले जग्गा प्रशासन स्थानीय तहमा हस्तान्तरण हुनुले सङ्घीयता कार्यान्वयन प्रारम्भ भएको बताए ।

उनले भने, ‘मालपोत ऐन संशोधन क्रममा रहेको र उक्त ऐन संशोधन गरी प्रमुख मालपोत अधिकृतले गर्ने काम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको व्यक्तिले गर्ने गरी संशोधन भएपछि मालपोतको अधिकांश काम स्थानीय तहबाटै हुन्छ ।’

मालपोत कार्यालय कलङ्कीले आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौंको नागार्जुन, दक्षिणकाली नगरपालिकामा जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गरिसकेको छ ।

कार्यालयले यसअघि नै मालपोतको सेवा स्थानीय तहमा हस्तान्तरण गर्नुपूर्व नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि र काठमाडौँ महानगरको वडा १३, १४ र १५ का तीन–तीन जना कर्मचारीलाई जग्गा प्रशासन र भूसेवासम्बन्धी तालिम प्रदान गरिएको थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७