न्यून चापीय रेखा नेपालतर्फ नजिकिंदै, रातिदेखि ठूलो पानी पर्ने


२७ श्रावण २०७७, मंगलवार
raining

काठमाडौं, २७ साउन । बर्षा गराउने न्यून चापीय रेखा नेपालतर्फ नजिकिंदै गएकाले नेपालमा मनसुनको मात्रा थप बढ्ने देखिएको मौसमविदले बताएका छन् ।

न्यून चापीय रेखा नेपाल नजिक हुँदै गएकाले आज (मंगलबार) रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिएकी छिन् । आज रातिदेखि भोलिसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको जानकारी दिंदै बासी भन्छिन्, ‘न्यून चापीय रेखा जति नजिक भयो उति वर्षा बढ्छ ।’

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

मौसमविद् बासीले अहिले (मंगलबार बिहान ७ बजे) पनि सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक देशका केही स्थानमा हल्काफुल्का पानी परिरहेको हुन सक्ने बताएकी छिन् । उनका अनुसार गए राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । एक–दुई ठाउँमा भारी वर्षा पनि भएको छ ।

काठमाडौं उपत्यकामा पनि राति ११–१२ बजेदेखि बिहान साढे २ बजेसम्म मध्यम खालको वर्षा भएको र उपत्यकामा ८ मिलिमिटर वर्षा भएको मौसमविद बासीले बताएकी छिन् ।

उनका अनुसार दिउँसो केहीबेर काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मौसम खुल्ने सम्भावना छ । तर अपराह्नपछि पुनः बदली भई हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

दिउँसोलाई ठूलो वर्षाको सम्भावना खासै छैन तर गण्डकी र ५ नम्बर प्रदेशका एक–स्थानमा भारी वर्षा हुन सक्छ । रातिदेखि भने वर्षाको मात्रा बढ्ने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७