गोंगबु हत्या काण्ड : हत्यामा प्रयोग भएको खुकुरी र मृत्तकको कपडा फेला

आरोपित महिलालाई चितवनमा पक्राउ गरी काठमाडौं ल्याई अनुसन्धान शुरु


२७ श्रावण २०७७, मंगलवार
Gongabu Murder

काठमाडौं, २७ साउन । राजधानीको गोंगबुमा गरिएको विभत्स हत्याका थप प्रमाणहरु प्रहरीले फेला पारेको छ ।

रोल्पा घर भई हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा प्रयोग भएको खुकुरी र उनले लगाएको कपडा प्रहरीले फेला पारेको छ । घटना लगतै अनुसन्धानलाई तीब्र बनाएको प्रहरीले बोहराको हत्या अभियोगमा चितवनबाट पक्राउ परेकी कल्पना शाही नामकी महिलालाई मंगलबार बिहान काठमाडौं ल्याइएको छ ।

बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार चितवनको टाँडीस्थित माधवपुरबाट पक्राउ गरी राति नै काठमाडौं ल्याएको हो । हत्या आरोपित महिला र उनकी छोरीलाई बिहान तीन बजे काठमाडौं ल्याइएको प्रहरीले जनाकारी दिएको छ ।

हत्या आरोपित महिलालाई थप प्रमाण संकलनका लागि अहिले घटनास्थलमा लगिएको प्रहरीले जानकारी दिएको छ । घटनास्थल नजिकैको एक घरमा भाडामा बस्दै आएकी उनले राति बोलाएर बोहराको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेकी छन् । महिलाको कोठाबाटै प्रहरीले मृतक बोहराको हत्यामा प्रयोग गरिएको खुकुर र उनले लगाउने कपडा समेत भेट्टाइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

हत्या एक्लै गरेको हुन नसक्ने अनुमान गरिएको र अनुसन्धानले पनि त्यस्तै देखिएको बताउँदै प्रहरी स्रोतले भन्यो, ‘अहिले घटनास्थलमा महिलालाई लगेर थप प्रमाण खोज्ने काम भइरहेको छ। अनुसन्धानपछि अन्य कुरा खुल्ने अपेक्षा गरेका छौं ।’

गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो । सुटकेशभन्दा करीब चार सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो । कुकुरको सहायतामा प्रहरीले यस हत्या काण्डको अनुसन्धान अगाडि बढाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७