फुटेको भनिएको चोकर्म तालको स्थलगत अध्ययन नगरिएको भन्दै आक्रोश


२७ श्रावण २०७७, मंगलवार
chokarma

सोलुखुम्बुु, २७ साउन । सोलुखोलामा पानीको बहाव बढेको पाँच दिन बितिसक्दा समेत प्रशासन कार्यालयले आधिकारिक पुष्टि नगरेपछि तटीय क्षेत्रका स्थानीयवासी आक्रोशित बनेका छन् ।

स्थानीय प्रत्यक्षदर्शीले चोकर्म पोखरी फुटेर आएकाले नदीमा पानीको बहाव बढेको फोटो तथा भिडियो समेत सार्वजानिक गरेको भए पनि प्रशासनले भने आधिकारिक पुष्टि गरेको छैन ।

शुक्रबार बिहानदेखि नदीमा पानीको बहाव बढेर बेनी क्षेत्रको बस्तीमा नदीको पानी पसेको भए पनि स्थानीय सरकार तथा प्रशासनले यसको वास्तविकता पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन् ।

हाल फुटेको पोखरी र यसको अवस्थाको अध्ययन गरी थप क्षति हुन नदिन आवश्यक पहल गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बेनीका स्थानीय फुदोर्जी शेर्पाले गुनासो गरे । दुई दिनको पैदल हिंडेर पुग्ने ठाउँमा तीन दिन बितिसक्दा समेत सरकारको प्रतिनिधि र जनप्रतिनिधि नपुग्नु दुःखद् भएको उनको भनाइ छ ।

दूधकुण्ड क्षेत्रमा रहेका प्रयत्क्षदर्शी समेत चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको दाबी गर्छन् । स्थलगत अध्ययन गरेका फुछिरिङ शेर्पाले चोकर्म पोखरी वरिपरिको भाग चिराचिरा परिसकेकाले जोखिम उच्च रहेको बताउँछन् । विपद् जोखिमलाई ध्यान दिएर तत्काल स्थलगत अध्ययन गरी थप सुरक्षा रणनीति अपनाउनुपर्ने निकाय मूकदर्शक बनेको नदी तटीय क्षेत्रका स्थानीय राजकुमार प्रधानको भनाइ छ ।

निरन्तर वर्षा भइरहेको अवस्थामा झनै जोखिम बढ्ने स्थानीयवासीको अनुमान छ । यस्तो अवस्थामा आम नागरिकलाई सुसूचित गराउने दायित्व बोकेका स्थानीय सरकारदेखि सङ्घीय सरकारले समेत बेवास्ता गरेको प्रधानले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आर्चायले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित साथ बस्न आग्रह गरिएको बताइन् । तीन तहको सरकारसँग समन्वय भइरहेको भन्दै उनले स्थानीयवासीलाई वास्तविकता बुझ्न पठाए पनि टेलिफोन सम्पर्क नभएको बताइन् ।

आइतबार प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीसहितको टोलीले हेलिकोप्टरमार्फत स्थलगत अध्ययन गर्ने तयारी गरेको भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको बताइएको छ ।

नुम्बुर हिमालको फेदमा दूधकुण्डसहित अन्य दर्जन बढी साना पोखरी रहेको स्थानीय जानकार बताउँछन् । चोकर्म पोखरी फुटेर चोतारे पोखरीमा आउँदा केही कम क्षति भएको अर्का प्रत्यक्षदर्शी लाक्पा लामाको भनाइ छ ।

‘यदि पोखरीको पानी एकैचोटी नदीमा आएको भए ठूलै क्षति गथ्र्यो’, लामाले भने, ‘एउटा पोखरी फुटेर अर्को पोखरीमा पस्यो, त्यसबाट क्रमैसँग पानी बग्दा ठूलो बहाव देखिएन, क्षति पनि भएन तर अब सतर्क नहुने भए गाह्रो छ ।’ अहिले भने खोलामा पानीको बहाव कम भइसकेको छ ।

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा सयौं पोखरी तथा ठूला–ठूला ताल छन् तर पनि तिनीहरु अधिकांशको वास्तविक अवस्थाका बारेमा आधिकारिकरूपमा अध्ययन भने गरिएको छैन । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (सुरवीर) केन्द्र सरकारसँग यस विषयमा छलफल भइरहेको बताउँछन् ।

नुम्बुर हिमाल क्षेत्रमा रहेका पोखरी फुटेर सोलुखोलामा पानीको बहाव अति उच्च भएमा सोलुखोलामा निर्माणाधीन तीन हाइड्रोपावरमा क्षति पुग्छ भने कम्तीमा तीनवटा बस्ती नै विस्थापित हुनेछ । तत्काल त्यस क्षेत्रको अध्ययन गरी थप योजना नबनाउने हो भने ठूलै जनधनको क्षति हुनसक्ने भन्दै स्थानीयवासीले जतिसक्दो चाँडो राज्यको ध्यान जानुपर्ने बताउँछन् ।

यस अवस्थामा जिल्ला दैवी प्रकोप उद्धार समितिको भूमिका महत्वपूर्ण हुने भए पनि व्यवहारमा नदेखिएको स्थानीयवासीको गुनासो छ । स्थानीयवासीले भिडियो समेत सार्वजनिक गरेको भए पनि प्रशासनबाट आधिकारिक पुष्टि समेत गर्न नसक्नु दुःखद् भएको भन्दै स्थानीयवासीले अविलम्ब विपद् प्रतिकार्य योजना निर्माण गर्नुपर्ने माग गरेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७