अमेरिकी निर्वाचन : डेमोक्र्याटबाट कमला ह्यारीस उपराष्ट्रपतिको उम्मेद्वार


२८ श्रावण २०७७, बुधबार
kamala harris q7ZfCv7vu9

वासिङ्टन, २८ साउन । अमेरिकाको उपराष्ट्रपति पदका लागि डेमोक्र्याट पार्टीका तर्फबाट सिनेटर कमला ह्यारिसलाई उम्मेदबार बनाइने भएको छ ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ह्यारिसलाई उम्मेदवार बनाउने घोषणा मंगलबार गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘निडर लडाकूका रुपमा रहेकी र देशको सेवाका लागि सधैँ क्रियाशील रहनु भएकी ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइने भएको छ ।’

सन् २०१६ मा भएको निर्वाचनमा ५५ वर्षीया ह्यारिस अमेरिकाको माथिल्लो सदन सिनेटमा निर्वाचित भएकी थिइन् । अफ्रिकी अमेरिकी महिला माथिल्लो सदनमा निर्वाचित भएकामध्ये उनी दोस्रो थिइन् । त्यस अगाडि उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ताको रुपमा कार्यरत थिइन् ।

बाइडेनले छनौट गरेसँगै उनी अमेरिकी इतिहासमा उपराष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्ने तेस्रो महिला हुने भएकी छिन् । यसअघि डेमोक्र्याटको तर्फबाट गेराल्डीन फेर्रारो सन् १९८४ मा उपराष्ट्रपतिको उम्मेदवार भएका थिइन् भने त्यसपछि सन् २००८ मा रिपब्लीकनका तर्फबाट सराह पालिन उपराष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएकी थिइन् ।

बाइडेनले ह्यारिस जस्तो प्रभावशाली, क्षमतावान र प्रतिबद्ध नेतृलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पाउँदा निकै गौरब र खुशी लागेको बताएका छन् । बाइडेनले ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग मिलेर काम गरेको पनि सम्झना गरेका छन् ।

भारतीय मूलकी ह्यारिसकी आमा भारतमा जन्मिएकी हुन् भने बुबा जमैकामा जन्मिएका हुन् ।
अमेरिकामा अहिलेसम्म अश्वेत महिलाले उपराष्ट्रपति पदमा उम्मेदवारको टिकट पाएका छैनन् भने अहिलेसम्म महिला राष्ट्रपति चुनिन पनि सकेका छैनन् ।

यसअघि राष्ट्रपतिकै उम्मेदवार बन्ने तयारी गरेकी ह्यारिस गत डिसेम्बरमा त्यस प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन् । सिन्ह्वा–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७