छिमेकीले सीमाका पिलर फाल्ने र सार्ने गर्दा समस्या बढ्यो : गृहमन्त्री

‘छिमेकीमा सीमा अतिक्रमण गर्ने नीति र चिन्तन पाइयो’


२८ श्रावण २०७७, बुधबार
badal scaled

काठमाडौं, २८ साउन । गृहमन्त्री रामबहादुर थापाले नेपाल–भारत सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आज बसेको बैठकमा उनले परराष्ट्र मन्त्रालयले दुई पक्षीय छलफलमार्फत समस्या समाधान गर्न सक्ने बताए । सीमा सुरक्षासम्बन्धी विशेष व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ ।

संसदीय समितिले पनि स्थलगत निरीक्षणलगायत काममार्फत समस्या हल गर्न लाग्नुपर्ने उनले बताए । उनले भने, ‘हामी सबैले चौतर्फी रुपमा पहल गर्दा मात्रै समस्या समाधान हुनसक्छ ।’

सीमा छुट्याउने आधार नदीलाई मानिँदै आएको र नदीले समय–समयमा आफ्नो धार बदल्ने हुँदा समस्या आउने गरेको गृहमन्त्री थापाले बताए । छिमेकीको सीमा अतिक्रमण गर्ने नीति र चिन्तन रहेको पाइएको उनको भनाइ छ । पिलर फाल्ने वा सार्नेलगायत काम भइरहेको उनले बताए । सीमाका बारेमा स्थायी रुपमा संयन्त्र बनाएर त्यसले समयसमयमा त्यसको पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ ।

भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले सीमा निरीक्षण र अनुमगमनको काम नियमित रुपमा गरिरहेको बताइन् । सीमामा रहेका पिलरमध्ये कति राम्रो अवस्थामा छन् कति भत्किए र कति हराए भन्ने समेत अध्ययन भइरहेको उनको भनाइ छ ।

दशगजा क्षेत्रमा सीमाको विवाद नभए पनि भोगचलनसम्बन्धी समस्या रहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘धेरै समस्या छलफलमार्फत नै टुङ्ग्याउन सकिन्छ ।’

परराष्ट्र सचिव शङ्करदास बैरागीले मंसिरमा गठन भएको सीमा निरीक्षण समितिले प्रतिवेदन तयार गरेको बताए । सीमामा रहेका समस्यामा विषयमा आगामी दिनमा सानो समूहमा छलफल गरेर अघि बढिने उनको भनाइ छ ।

समितिले सरकारले कोभिड–१९ नियन्त्रणका लागि सीमाका १० नाका मात्रै खुलाउने निर्णयको स्वागत गरेको छ । कोभिडले समस्या मात्रै नभएर अवसर पनि खुलाएको समिति सभापति शशि श्रेष्ठले बताइन् ।

सरकारले कोभिडपछिको समयमा पनि सीमालाई थप व्यवस्थित गर्न सक्ने उनको भनाइ छ । उनले प्रशासनले कुनै एउटा जिल्ला प्रवेश गर्दा व्यक्तिको विवरण लिनुपर्ने बताइन् । उनले भनिन्, ‘एम्बुलेन्सबाट बिरामी बाहेकका मान्छेको आवतजावत रोक्न जरुरी छ ।’

समितिका सदस्य लालबाबु यादव, पम्फा भुसाल, राजेन्द्र श्रेष्ठ, देवेन्द्रराज कँडेल, छक्कबहादुर लामा, प्रेम सुवाल, नरबहादुर धामी, यशोदा सुवेदी, लक्ष्मी चौधरी लगायतले सीमाबाट नेपाल प्रवेश गर्ने सबैको नाम, ठेगाना र सम्पर्क नम्बर टिप्नु पर्ने बताएका थिए । सीमाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनीहरुले औंल्याए ।

समितिमा कञ्चनपुरका स्थानीयवासी सम्मिलित अन्तर्राष्ट्रिय सीमा समितिले सरकारलाई त्यहाँको सीमामा रहेका समस्या र त्यसको समाधानका उपायका बारेमा बताएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७