भोलिदेखि सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन


२८ श्रावण २०७७, बुधबार
griha home

काठमाडौं, २८ साउन । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरु सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरि मन्त्रालयले भोलि (विहीबार)बाट लागू हुने गरी सवारी पास वितरण बन्द गर्ने निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्ने भनिएको छ । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो २४ कोरोना भाइरसको संक्रमणका कारण करिब १ दर्जन मृत्यु भएको छ भने ४८४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

sawari

काठमाडौं
महानगरपालिका–१२ टेकु निवासी ७८ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ ।
किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा उपचार गराइरहेकी महिलाको बुधबार राति १ः१५ निधन भएको हो ।

उनी झाडापखाला तथा ज्वरोको कारण साउन २६ गते किष्ट अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । मृतक महिला पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरको फिभर क्लिनिकबाट रेफर भएर किष्ट अस्पताल पुगेकी थिइन् ।

उनी उच्च रक्तचाप, मधुमेह, हाइपोथोराडिजम, सेप्टीक सक तथा मिर्गौला रोगबाट ग्रस्त भएको प्रवक्ता गौतमले जानकारी दिए। साउन २६ गते पाटन अस्पतालमा उनको स्वाब लिइएको थियो । उनको पीसीआर रिपोर्ट बुधबार मात्र आएको हो ।

धादिङ
धादिङ निलकण्ठ नगरपालिका–१४ का ३२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । उनको ह्याम्स अस्पतालमा मृत्यु भएको हो । क्षयरोगी उनी निमोनिया, खोकी तथा सास फेर्न कठिन भएको भन्दै साउन २७ गते अस्पतालको आइसीयूमा भर्ना भएका थिए । अस्पताल भर्ना भएकै दिन साँझ उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

धनुषामा दुईको मृत्यु
धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–१ निवासी ७१ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ । बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको मृत्यु भएको हो । साउन ५ गते निमोनिया तथासास फेर्न कठिन भएर अस्पतालमा भर्ना भएका उनको साउन ६ गते स्वाब संकलन गरिएको थियो । उनको पीसीआर रिपोर्ट भने साउन ७ गते नै आएको थियो ।

धनुषाकै ३८ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका– ८ बस्ने महिलाको ललितपुरको पाटन अस्पतालमा बुधबार राति निधन भएको हो । इन्सेफ्लाइटिस भएर उनी साउन १८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उनमा साउन १८ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि अल्का अस्पतालमा पुगेकी महिलामा कारोना पुष्टि भएपछि पाटन अस्पताल रेफर गरिएको थियो ।

सप्तरी
सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ घर भर भएर राजविराज नगरपालिका–६ सिराहारोड बस्दै आएका ७२ वर्षीया एक पुरुषको मंगलबार मृत्यु भएको छ । चार दिनअघि ज्वरो आएपछि स्वाब परीक्षणका लागि दिएको नमुनाको रिपोर्ट मंगलबार पीसीआर पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि अस्पताल लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् । उनी थाइराइड, मधुमेह, उच्च रक्तचाप तथा मुटु रोगी थिए ।

कपिलवस्तु
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीया पुरुषको बुधबार कोरोनाले मृत्यु भएको छ । उनी ज्वरो तथा निमोनिया भएर साउन २५ गते बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचारकै क्रममा मंगलबार (साउन २७) गते स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

बारा
बाराको कलैया उपमहानगरपालिका बस्ने ७५ वर्षीय एक पुरुषको कोरोनाले मृत्यु भएको छ । उनको बुधबार किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा मृत्यु भएको हो । शरीर कमजोर भइ चक्कर लागेपछि उनी साउन २६ गते किष्ट अस्पताल भर्ना भएका थिए । रक्तअल्पता, हाइपोथोराडिजम, सेप्टीक सक, दम तथा मिर्गौला रोगी भनिएका उनको साउन २७ गते लिइएको स्वाबको पीसीआर रिपोर्ट बुधबार पोजिटिभ आएको हो ।

बाराको वीरगञ्जको सडकमा मृत अवस्थामा फेला परेका एक युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही घर भएका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित सामुदायिक प्रहरी कार्यालय नजिकको सडकमा मंगलबार दिउँसो उनी दिउँसो मृत फेला परेका थिए । शवको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । बुधबार साँझ प्रयोगशालाले दिएको रिपोर्टमा मृतक ती पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

मोरङमा दुईको मृत्यु
मोरङ बुढीगंगा गाउँपालिका–२ गंगाचोक निवासी ५५ वर्षीय पुरुष कोरोनाले मृत्यु भएको छ । उनको बुधबार बिहान धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
बुधबार नै मोरङमा कोरोनाले विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ ।

विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका एक कर्मचारीको बुधबार दिउँसो मृत्यु भएको हो । विराटनगर महानगरपालिका–३ घर भएका ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो । कोशी अस्पताल कोरोना उपचार केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार उनको बुधबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

आज कुन जिल्लामा संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुुसार देशभरका प्रयोगशलामा १० हजार ४८१ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा सबैभन्दा धेरै काठमाडौंमा १०९ संक्रमित भेटिएका छन् ।

मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५–१५ जना, कास्कीका १३, झापा र सिराहाका १०÷१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६–६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५र५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३–३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २–२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एक–एक जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७