सर्वसाधारण बिरामीबाट शिक्षण अस्पतालले उठाएको १८ करोड बैंक खाताबाटै गायब


२९ श्रावण २०७७, बिहीबार
teaching hospital

काठमाडौं, २९ साउन । सर्वसाधारणको उपचारबापत त्रिवि शिक्षण अस्पताल महाराजगन्जले उठाएको १८ करोड रुपैयाँ बैंकबाटै गायब भएको छ । अस्पतालको बैंक मौज्दातमा १८ करोड नभेटिएको भन्दै महालेखाले प्रश्न उठाएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन सुरु गरेको छ  ।

शिक्षण अस्पतालले तीन वर्षसम्म लेखापरीक्षण गराएको थिएन । आर्थिक वर्ष ०७३–७४ देखि ०७५–७६ सम्मको शिक्षण अस्पतालको लेखापरीक्षण एकैपटक भएको थियो ।

अस्पतालले विभिन्न बैंकका खातामा रहेको भनेको १७ करोड ९४ लाख ५८ हजार बैंकमा नभेटिएको महालेखाको ५७ औं प्रतिवेदनमा उल्लेख छ । तीन–तीन वर्षसम्म लेखापरीक्षण नगरिएकाले पनि रकम हिनामिना भएको हुन सक्ने आशंका त्रिभुवन विश्वविद्यालयका अधिकारीहरूको छ ।

अस्पतालको अभिलेखमा हिमालय बैंकलगायतका बैंकहरूमा ९८ करोड २७ लाख ७५ हजार मौज्दात रहेको उल्लेख भए पनि महालेखाले ८१ करोड ८३ लाख ६७ हजार मात्रै फेलापारेको छ, १६ करोड ४४ लाख आठ हजार गायब छ ।

त्यस्तै, नेपाल बैंक लिमिटेडमा रहेका पाँचवटा खाता, नबिल बैंक लिमिटेड र हिमालय बैंकमा रहेका एक–एक खातामा पनि अस्पतालले भनेअनुसार रकम मौज्दात नभेटिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अस्पतालको स्रेस्ताअनुसार एक करोड ६२ लाख २० हजार बैंक मौज्दात हुनुपर्नेमा ११ लाख ७० हजार मात्र छ । एक करोड ५० लाख ५० हजार गायब छ ।

अस्पतालको १८ करोड गायब भएको विषयमा त्रिभुवन विश्वविद्यालयका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् । अस्पतालको रेकर्डमा बैंकमा जम्मा गरेको उल्लेख गरेर अनियमितता गरिएको हो वा कर्मचारीमा लेखाको ज्ञान नभएर समस्या देखिएको हो भन्ने विषयमा त्रिविले छानबिन गर्ने तयारी गरेको छ ।

त्रिविले शिक्षण अस्पताललाई यस विषयमा स्पष्टीकरण सोधिसकेको छ । ‘बैंकमै रकम जम्मा नभएको विषयमा विस्तृत छानबिन नगरी वास्तविकता थाहा हुँदैन,’ त्रिविको आर्थिक प्रशासन महाशाखा प्रमुख कुमार हुमागाईंले भने, ‘अहिले प्रारम्भिक रूपमा स्पष्टीकरण सोधेका हौँ, अब समिति बनाएर विस्तृत छानबिन हुन्छ ।’

शिक्षण अस्पतालका कार्यकारी निर्देशक रोहित पोखरेलले कागजपत्रहरू चुस्त नहुँदा समस्या देखिएको बताए । ‘आन्तरिक लेखा परीक्षण गर्दा पनि यस्तै प्रश्न उठाइएको रहेछ । कागजपत्रहरू चुस्त नहुँदा यस्ता समस्या आएका हुन् । कागजहरू नहुँदा तीन वर्षसम्म लेखा परीक्षण पनि गराइएको रहेनछ,’ उनले भने ।

विगतमा कतिपय सामान एलसी खोलेर खरिद गरिएको, तर त्यसको लगत कट्टा नगरिँदा पनि समस्या देखिएको पोखरेलको भनाइ छ । ‘शिक्षण अस्पतालमा पुरानै समस्या रहेछ । लेखाको विषयमा म विस्तृत त जान्दिनँ, तर बुझेअनुसार कतिपय सामान एलसी खोलेर किनियो, त्यसो गर्दा बैंकबाट पैसा घट्यो । तर, त्यसको लगत कट्टा नहुँदा समस्या देखिएको हो भन्ने छ,’ उनले भने ।

आन्तरिक आम्दानी र त्रिभुवन विश्वविद्यालयको अनुदान गरी शिक्षण अस्पतालको वार्षिक बजेट करिब एक अर्बको हुने गरेको छ । अस्पतालका लेखा प्रमुख कपिल ढकालका अनुसार आर्थिक वर्ष ०७६–७७ मा स्थायी कर्मचारीको तलबका लागि त्रिविबाट ३६ करोड आएको थियो । बाँकी रकम अस्पतालले बिरामीबाट आम्दानी गर्ने गर्छ ।

अस्पतालमा त्रिविका स्थायी कर्मचारी पाँच सय छन् । त्यस्तै, अस्पतालको आम्दानीबाट एक हजार चार सय कर्मचारीले तलब खाने गर्छन् । फागुनदेखि जेठसम्म बिरामीको चाप बढ्ने भएकाले त्यस अवधिमा धेरै आम्दानी हुने गरेको अस्पतालले जनाएको छ । ती महिनामा प्रतिदिन २५–३० लाखसम्म आम्दानी हुने गरेको छ । कर्मचारीले ५० प्रतिशत भत्ता पाउँछन् ।

अग्रिम करकट्टीको १५ करोड ४४ लाख राजस्व दाखिला भएन

शिक्षण अस्पताललगायत निकायले भुक्तानी बमोजिमको करकट्टी गरे पनि राजस्व दाखिला नगरेको पनि पाइएको छ । महालेखाको प्रतिवेदनअनुसार अग्रिम करकट्टी भएको १५ करोड ४४ लाख ६१ हजार राजस्व दाखिला गरिएको छैन । सो रकम अस्पतालले दायित्वमा देखाएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, शंकरदेव क्याम्पसले पनि अग्रिम करकट्टी गरेको रकम राजस्वमा दाखिला गरेको छैन । त्रिविका १७ निकायले आयकर ऐनअनुसार २६ लाख ८३ हजार कर कट्टा गरेका छैनन् । सो रकम सम्बन्धितबाट असुल गरी सञ्चित कोषमा दाखिला गर्न महालेखाको सुझाब छ ।

त्रिविको जग्गामा व्यापारिक भवन, तर तिरेन सवा दुई करोड

त्रिपुरेश्वरस्थित पहिले जनप्रशासन क्याम्पस रहेको १० रोपनी १३ आना तीन पैसा क्षेत्रफलको जग्गामा व्यावसायिक भवन निर्माण गर्न त्रिविले ३२ वर्षका लागि लिजमा दिएको छ । जहाँ वर्ल्ड ट्रेड सेन्टर बनाइएको छ ।

लिज सम्झौतामा प्रत्येक महिनाको घरभाडा महिना सुरु भएको १५ दिनभित्र बुझाइसक्नुपर्ने र समयमा भाडा नबुझाएमा २० प्रतिशतका दरले विलम्ब शुल्क लाग्ने व्यवस्था छ । तर, वर्ल्ड ट्रेड सेन्टरले ०६१ देखि ०७६ असारसम्मको एक करोड ३७ लाख र विलम्ब शुल्क ९२ लाख १२ हजार गरी दुई करोड २९ लाख १२ हजार बुझाउन बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यो रकम उठाउन महालेखाको सुझाब छ ।

कार्यकारी निर्देशक रोहित पोखरेल भन्छन्, ‘धेरै पहिलेदेखिको समस्या रहेछ’

शिक्षण अस्पतालमा पुरानै समस्या रहेछ । लेखाको विषयमा म विस्तृत त जान्दिनँ, तर बुझेअनुसार कतिपय सामान एलसी खोलेर किनियो, त्यसो गर्दा बैंकबाट पैसा घट्यो । तर, त्यसको लगत कट्टा नहुँदा समस्या देखिएको हो भन्ने छ ।

आन्तरिक लेखा परीक्षण गर्दा पनि यस्तै प्रश्न उठाइएको रहेछ । कागजपत्रहरू चुस्त नहुँदा यस्ता समस्या आएका हुन् । कागजहरू नहुँदा तीन वर्षसम्म लेखा परीक्षण पनि गराइएको रहेनछ । अस्पतालसँग त्यति धेरै रकम छैन । त्यत्रो रकम कसैले हराउँछु भन्दा पनि सक्दैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७