प्रहरीभित्र कोरोना फैलिँदै


२९ श्रावण २०७७, बिहीबार
korona police

काठमाडौं, २९ साउन । प्रदेश २ मा प्रहरी संगठनभित्र कोरोनाको जोखिम बढ्दै छ । सात वटै प्रदेशमध्ये यो प्रदेश उच्च जोखिममा छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका ब्यारेकभित्र कोरोना संक्रमण बढेको हो । लकडाउन कार्यान्वयन र अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरी, गाउँदेखि सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी र कोरोनाबाट संक्रमित शव व्यवस्थापनमा खटिएका नेपाली सेना र उनीहरूको सम्पर्कमा आएका अरूलाई कोरोना संक्रमण देखिएको हो ।

प्रदेश २ को मध्यपूर्वी पृतनाका पृतनापतिसहित नेपाली सेनाको संगठनभित्र १५ जना, नेपाल प्रहरीको संगठनभित्र इन्स्पेक्टरलगायत ९२ जना र सशस्त्र प्रहरीको संगठनभित्र डीएसपीसहित २२ जना कोरोना संक्रमित भएको स्रोतले जनाएको छ । प्रदेश २ कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको जनस्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजयकुमार झाले बताए ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित नेपाली सेनाको ब्यारेकभित्र कोरोना संक्रमण फैलिएको छ । रणभीम गण पर्कौली ब्यारेकका १५ जना सैनिकमा कोरोना संक्रमण भेटिएको महोत्तरीका सीडीओ कृष्णबहादुर कटुवालले जनाए ।

स्रोतका अनुसार क्याप्टेनसहित १५ जना संक्रमित भएका छन् । यसअघि आठ जना सैनिक संक्रमित भएका थिए । जलेश्वरमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थान गर्न खटिएका सेनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी तथा कोभिड फोकल पर्सन गिरेन्द्रकुमार झाका अनुसार केही दिन पहिले नगरपालिकाको कार्यालयमा कार्यरत एक जना ओभरसियरमा कोरोना पुष्टि भएको थियो ।

विराटनगरमा ती कर्मचारीले कोराना जाँच गराउँदा संक्रमण भेटिएपछि उनले आफ्नो कार्यालयमा जानकारी गराएका थिए । उनको कन्ट्याक्ट ट्रेसिङ आएका सहितका ५३ जनाको कोरोना परीक्षण गर्दा नेपाली सेनासहित ३० जनामा संक्रमण भेटिएको थियो ।

प्रदेश २ मा कार्यरत ९२ जना नेपाल प्रहरीमा हालसम्म कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता अंशु सिंहले जनाएअनुसार ३९ जना कोरोना जितेर अस्पतालबाट फर्किएका छन् भने ५३ जना अझै कोरोना अस्पतालको आइसोलेनसनमा उपचार गराइरहेका छन् ।

तालिमे प्रहरी, प्रशिक्षक प्रहरी हबलदार तथा इन्स्पेक्टरसम्मलाई कोरोना लागेको हो । थुनुवामा कोरोना भेटिएपछि प्रहरी कार्यालय नै सिल गर्नु परेको अवस्था छ । प्रहरीलाई कोरोनो लागेपछि अपराध अनुसन्धान प्रभावित बनेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७