रुवीभ्याली जोड्ने सडक चैत मसान्तसम्ममा बन्छ : मन्त्री फुयाँल


२९ श्रावण २०७७, बिहीबार
8702719e9988e65202488ad8e7297600 w1000 h500 cp

धादिङ, २९ साउन । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले धादिङको रुवीभ्याली जोड्ने सडक आगामी चैत मसान्तसम्ममा सम्पन्न हुने बताएका छन् ।

‘रुवी भ्याली एकीकृत विकास परियोजना’ सम्बन्धी अन्तरक्रियामा सहभागी भएर प्रदेश राजधानी हेटौंंडा फर्किएका मन्त्री फुयालले २०७८ सालको नयाँ वर्ष सडक मार्ग हुँदै रुवीभ्याली पुगेर मनाउन सकिने गरी काम गरिने बताए ।

मन्त्री फुयाँलले नयाँ वर्षका अवसरमा वैशाख १ गते रुवीभ्यालीमा विशेष पर्यटन उत्सव मनाइने समेत जानकारी दिए । ‘वैशाख १ गते मोटर चढेर रुवीभ्याली जाऔं र नयाँ वर्ष मनाआंंँ’ भन्ने नारा समेत तय भएको जनाइएको छ ।

रुवीभ्याली मानव विकास सूचकाङ्कमा वाग्मती प्रदेशको सबैभन्दा पछाडि रहेको र हालसम्म सडकले समेत नजोडिएको क्षेत्र भए पनि पर्यटन तथा प्राकृतिक सम्पदाले धनी रहेको मन्त्री फुयाँलले बताए ।

रुवीभ्यालीमा मोटर पुगेपछि मोटरबाटै हिमशिखरको दृष्यावलोकन गर्न सकिने उनको भनाइ थियो । बाह्र महिना हिउँ पर्ने स्थानमा पनि सहज ढङ्गमा मोटर लान सकिने भूबनोटको फाइदा लिएर रुवीभ्यालीले विकासमा र समृद्धिमा फड्को मार्न सक्ने उनले बताए ।

यसै वर्ष काम सक्नेगरी रुवीभ्याली जोड्ने सडकमा पर्ने चार खोलामध्ये दुईमा सङ्घीय र दुईमा प्रदेश सरकारले पुल बनाउने जनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला समन्वय समिति धादिङ, रुवीभ्याली गाउँपालिका तथा धादिङमा रहेका राजनीतिक दल, बुद्धिजीवी, पर्यटन व्यवसायी, नागरिक समाज र विज्ञसहितको उपस्थितिमा सो अन्तरक्रिया गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७