पार्टी विभाजनको खतरा देखेपछि प्रचण्ड-नेपाल समूह नयाँ रणनीतिमा


३० श्रावण २०७७, शुक्रबार
Prachand jhalnath madhav and narayankaji

काठमाडौं, २९ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र लामो समयदेखि जारी अन्तर संघर्ष नयाँ मोडमा पुगेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा आफ्नो अडानमा टसमस नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ रणनीति बनाएर अघि जानुपर्ने निचोडमा पुगेका छन् ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको कारण पार्टी र सरकार गलत तथा असफलताको बाटोमा हिडिरहेका निचोड सहित प्रचण्ड–नेपाल समूहले ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने अडान राखेको थियो । सके दुबै पदबाट, नसके एउटा पदबाट ओलीलाई हटाउने रणनीतिमा थियो, प्रचण्ड–नेपाल समूह । तर, यो मागलाई ओलीले अस्वीकार गर्दै आएका थिए ।

दुबै पद नछोड्ने छोड्नुपर्ने अवस्था बनाइए पार्टी नै विभाजन गर्ने तयारी ओलीले गरेपछि प्रचण्ड–नेपालले नयाँ रणनीति बनाएको एक स्थायी कमिटि सदस्यले बताए । ती नेताले भने, ‘ओलीको पछिल्लो गतिबिधि र तयारी हेर्दा हामीले अहिलेसम्म लडेर ल्याएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नै खतरामा पर्ने देख्यौं । त्यही कारण नयाँ रणनीति बनाएका हौं ।’

पार्टीभित्र अन्तरसंघर्ष जारी रहेको बेला प्रधानमन्त्री ओली समूहले तलै समूह मदन भण्डारी फाउन्डेशनको नाममा भेला जारी राख्नु, राष्ट्रपति, प्रधानन्यायधीस, सुरक्षा निकायका प्रमुखहरुसँग बसेर सम्भावित कदमको बारेमा पटक पटक छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले सबैधानिक संकट ल्याउने गरी तयारी गरेपछि प्रचण्ड–नेपाल संयमता अपनाउनु परेको नेपाल निकट एक स्थायी कमिटिले बताए । ती सदस्यले भने, ‘प्रधानमन्त्री ओली ‘नरहे बास नबजे बाँसुरी’को मुडमा पुग्नु भएको छ । अहिले हामीले अपमान सहेर भएपनि पार्टी विभाजनबाट जोगाउनुपर्छ ।’

के हो नयाँ रणनीति ?
प्रधानमन्त्री ओलीको तयारीपछि प्रचण्ड–नेपाल समूहले पनि आफू निकट नेताहरुसँग तिव्र छलफल सुरु गरेका छन् । बिहीबार पनि प्रचण्ड–नेपाल समूहले काठमाडौंको एक कलेजमा पाँच नम्बर प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यसँग छलफल गरेका छन् ।

भेलामा अध्यक्ष प्रचण्डका सहित वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए । भेलामा कमिटी सदस्य घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, देव गुरूङलगायत नेता उपस्थित थिए । भेलामा सहभागी नेताहरुले पार्टी एकतालाई बचाएर प्रधानमन्त्री ओलीको गलत कदमलाई रोक्नुपर्ने बताएका थिए । स्रोतका अनुसार पार्टी र सरकार सञ्चालनका निम्ती विधि र पद्धति बनाएर लैजानेमा ओलीलाई अधिकतम् सहमति गराउदै अन्तरसंघर्ष जारी राख्ने तयारीमा प्रचण्ड–नेपाल समूह लाग्ने योजनामा छ ।

‘प्रधानमन्त्री ओली समूहको पार्टी विभाजन गर्ने तयारी र योजनालाई हामी कुनै पनि हालतमा पुरा हुन्न दिन्नौं,’ मन्त्री समेत रहेका वरिष्ठ नेता नेपाल निकट एक स्थायी कमिटिले भने,‘बरु अहिले जति सक्छौं, ओलीलाई विधि र पद्धतिका लागि सहमत गराउछौं । भबिष्यमा पनि ओली नसच्चिए उचित समयमा अर्को कदम उठाउछौं । तर अहिल्यै ओली समूहको विभाजनको सपना पुरा गर्ने गरी कदम चाल्दैनौं ।’

छलफल तिव्र
नौ दिनपछि बिहीबार भेटवार्ता गरेका नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच विवाद समधानका लागि छलफल भएको छ । लामो समय विवाद समधानको निम्ती कुनै ठोस प्रस्ताव नराखेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग नेकपाको विवाद समाधानका लागि नयाँ प्रस्ताव अघि सारेका छन् । ओलीले पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने, सरकारका निर्णयहरु सचिवालय बैठकबाट अनुमोदन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने र प्रधानमन्त्रीमा ओली नै ५ वर्ष कायम रहेनगरी सहमतिको प्रस्ताव अघि सारेका हुन् ।

बालुवाटार छलफलपछि पाँच नम्बर प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यहरुको छलफलमा प्रचण्डले पार्टी विभाजन रोकन संयमता अपनाउनुपर्ने बताएका थिए । उनले भनेका थिए,‘बाहिरबाट हेर्दा हामी हारेजस्तो देखिन्छ र तर, यो हारेको होइन हामीले संयमता अपनाएको हो। पार्टीलाई विधि प्रक्रियाअनुसार चलाउन हामीले चालेको कदम हो । हामी अपमानित भएर पनि सहेर बसेका छौँ। पार्टी एकता, परिवर्तन र जनआकांक्षाका जोगाउन सहेर बसेका हौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७