नेकपाको विमति सहमतितर्फ


३० श्रावण २०७७, शुक्रबार
kp oli prachanda

काठमाडौं, ३० साउन । नेकपाभित्रको विवाद टुंग्याउने गृहकार्यमा जुटेका नेताहरूले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमतिनजिक पुगेको दाबी गरेका छन् ।

नौ दिनको संवादहीनता तोड्दै ओली र प्रचण्डबीच सहमतिका लागि अधिकार बाँडफाँडसहितका विभिन्न विषयमा ठोस छलफल भएको छ ।

ओलीसँगको छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । तीमध्ये एक नेताले प्रचण्डलाई उद्धृत गर्दै बताएअनुसार बिहीबार दुई अध्यक्षबीच अधिकार बाँडफाँडको विषयमा लगभग सहमति भएको छ ।

‘विषयवस्तु केन्द्रित सकारात्मक संवाद भएको छ । भोलि (शुक्रबार) पनि छलफल हुन्छ । सहमति बन्छ कि भन्ने विश्वास बनेको छ,’ गृहकार्यमा जुटेका एक नेताले भने, ‘स्थायी कमिटी बैठकचाहिँ सुचारु हुन्छ ।’ नेता नेपालसहितका अन्य नेतालाई पनि विश्वासमा लिने र यसै साता स्थायी कमिटीमार्फत निर्णय लिने ओली–प्रचण्डको तयारी छ ।

महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्माले केही दिनयता गरेको गृहकार्य र उनीहरूले तयार पारेको सहमतिको मस्यौदामा बिहीबार ओली र प्रचण्डबीच दुई घन्टाभन्दा बढी एक्लाएक्लै संवाद भएको थियो । यसबाहेक ओली र प्रचण्डले पौडेल, पोखरेल र शर्मासहित पनि सहमति जुटाउने प्रस्तावमाथि छलफल गरेका थिए ।

‘प्रचण्डले पार्टीको सम्पूर्ण कामकारबाही अगाडि बढाउनेसहितको अध्यक्षको जिम्मेवारी पूरा गर्ने र ओलीले पार्टीसँगको सल्लाहमा सरकार चलाउने’ प्रस्तावमा दुई अध्यक्ष सहमति नजिक पुगेको गृहकार्यमा जुटेका एक नेताले बताए । उनका अनुसार त्यसअगाडि स्थायी कमिटीमा दुवै अध्यक्षले आ–आफ्ना कमजोरीको आत्मआलोचना गर्ने पनि प्रस्ताव छ ।

यसबाहेक मन्त्रिपरिषद् हेरफेर गर्ने प्रस्तावमा पनि दुवै अध्यक्ष सहमतिनजिक पुगेका छन् । ‘सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको प्रस्तावमा पनि छलफल सकारात्मक भएको स्रोतले बतायो । सहमतिको मस्यौदामा रहेको ‘आवश्यकताअनुसार मुख्यमन्त्री र प्रदेश मन्त्रिपरिषद् हेरफेर’ का लागि पनि ओली र प्रचण्ड सकारात्मक भएका छन् ।

यसबाहेक संगठनात्मक कामलाई टुंग्याउने गरी शक्तिशाली कार्यदल बनाउने पनि सहमतिको मस्यौदा प्रस्तावमा रहेको एक नेताले बताए । स्थायी कमिटी बैठकअगाडि यस्तो कार्यदल गठन गरेर सहमतिलाई अन्तिम रूप दिने अर्को विकल्पमा पनि ओली र प्रचण्डबीच छलफल भएको छ ।

दुवै अध्यक्षको भेटवार्ताअघि संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि बालुवाटार पुगेर केहीबेर प्रधानमन्त्री ओलीलाई भेटेर फर्किएका थिए । दोस्रो तहका चार नेता ओली र प्रचण्डलाई मिलाउन एक महिनादेखि सक्रिय छन् ।

छलफल निष्कर्ष आउने गरी समाधानउन्मुख भएको भन्दै ओली र प्रचण्डले शुक्रबार पनि छलफललाई निरन्तरता दिने समझदारी गरेको नेताहरूले बताएका छन् । ‘उहाँहरूबीच एक साताभित्र स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने समझदारी भएको छ,’ दुवै अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेका एक नेताले भने, ‘तत्काललाई बैठक सुचारु गरेर समग्र प्याकेजमा सहमतिको खोजी गर्न विभिन्न विकल्पहरूमा छलफल जारी राख्दै अघि बढ्ने विषयमा पनि उहाँहरू सहमत हुनु भएको छ ।’

गत १३ साउनमा बालुवाटारमै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमत स्थायी कमिटी सदस्यको उपस्थितिमा बैठक राखेको दाबी गर्दै आए पनि ओली र उनीनिकट नेताले मान्यता दिएका थिएनन् ।

ओली ३ साउनको सचिवालय बैठकको निर्णयअनुसार सचिवालयबाट सहमतिको प्रस्ताव तयार भएपछि मात्र स्थायी कमिटी बोलाउने अडानमा टसमस थिएनन् । प्रचण्ड पछिल्लोपटक स्थायी कमिटी बसेका कारण त्यसैलाई सुचारु गरेर सहमति खोज्नुपर्ने अडानमा थिए । पछिल्लो पटक ओली र प्रचण्डबीच २० साउनमा एक घन्टा छलफल भएको थियो ।

बुधबार एपी वान टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या पाँच दिनभित्रै अर्कै ‘सिनारियो’ देखिने गरी समाधान गर्ने ठोकुवा गरेका थिए । उनले बिहीबारबाटै ‘काउन्टडाउन’ सुरु भएको बताएकै दिन उनीहरूबीच छलफल भएको हो ।

‘हप्ता–दश दिन होइन, हप्ताभन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो । भोलिबाट एक भनेर काउन्टडाउन सुरु गर्नुहोला,’ अन्तर्वार्ताकार भूषण दाहालसँग ओलीको भनाइ थियो ।

संसदीय दलका उपनेता नेम्वाङले बिहीबारको छलफलबाट समग्रमा दुवै अध्यक्ष सहमतिका लागि उत्साहित बनेको बताए । ‘बिहीबारको छलफलबाट समग्रमा दुवै अध्यक्ष उत्साहित हुनुहुन्छ र छलफल सकारात्मक भयो भन्ने छ ।

त्यसैले प्रधानमन्त्रीले बुधबार काउन्टडाउन गर्दा हुन्छ भने जस्तै सुरुवात सकारात्मक देखिएकोमा त विवादै रहेन,’ नेम्वाङले भने, ‘स्थिति सकारात्मक र मिल्ने दिशातिरै गएको छ, तर विभिन्न विकल्पमा छलफल चलिरहेकाले केमा मिल्छ भन्ने कुराचाहिँ दुई अध्यक्षले मात्र भन्न सक्नुहुन्छ ।’

बालुवाटारमा छलफल सकिएपछि प्रचण्ड बानेश्वरको थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा प्रदेश ५ का निकट केन्द्रीय सदस्यसँगको छलफलमा सहभागी भएका थिए । केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीसहित केही नेताले प्रधानमन्त्री ओलीसँगको पछिल्लो छलफलबारे जिज्ञासा राखेपछि प्रचण्डले स्थायी कमिटी राख्ने विषयमा ओली पनि सकारात्मक बनेकाले केही दिनभित्रै बैठक बस्न सक्ने जानकारी गराएका थिए ।

‘प्रधानमन्त्रीले पहिले सचिवालय बैठक बसेरै छलफल गरौँ भन्नेमा जोड गर्नुभएको थियो, तर मैले पछिल्लो चालू स्थायी कमिटी बैठक सुचारु नगरेसम्म अगाडि जान सकिँदैन भन्नेमा जोड गरेपछि उहाँ पनि केही दिनमै स्थायी कमिटी नै राख्ने कुरामा सकारात्मक बन्नुभएको छ,’ प्रचण्डले छलफलमा राखेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘सकारात्मक कोणबाटै कुरा अघि बढेकाले हामीले राखेका कुरा नै सही हुन्छन् र निष्कर्ष निकाल्ने तहमा पुग्छौँ, पार्टी फुट्दैन तपाईंहरू नआत्तिनुस्, अब केही दिनमै बैठक बस्न सक्छ ।’

सचिवालय र स्थायी कमिटी मा पेस हुने गरी सहमतिको प्रस्तावको गृहकार्य सुरु भएको मूल आशयसहितको ब्रिफिङ प्रचण्डले गरेको पनि ती सदस्यले जानकारी दिए ।

वरिष्ठ नेता नेपालले भने पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्ने विषय उठान गरिएकोबारे जानकारी गराएका थिए । नेता नेपालले ओलीले विगतदेखि नै पटक–पटक नयाँ–नयाँ प्रस्ताव ल्याएर छलछाम गर्ने गरेका कारण सजगताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

भेलामा वरिष्ठ नेता खनाल तथा प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेबाहेक २५ जना केन्द्रीय सदस्य सहभागी थिए । खनाल र श्रेष्ठले भने भेलामा बोलेनन्न्। प्रचण्ड–नेपाल समूहले बुधबार पनि सोही कलेजमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूको भेला राखेको थियो ।

२० जना उपलब्ध केन्द्रीय सदस्य सहभागी भेलामा स्थायी कमिटी सदस्य देव गुरुङले चार पृष्ठको ‘नेकपामा पैदा भएको बहस पदीय कि वैचारिक ?’ शीर्षकको दशबुँदे कार्यपत्र छलफलका लागि प्रस्तुत गरेका थिए । उनले पार्टीभित्रको अहिलेको अन्तर्विरोध सैद्धान्तिक–वैचारिक पक्षसँग जोडिएको दुई लाइन संघर्षका रूपमा कार्यपत्रका रूपमा व्याख्या गरेका छन् । केही समयअघि सोही कलेजमा यो समूहले प्रदेश २ का केन्द्रीय सदस्यको समेत अलग्गै भेला राखेको थियो ।

गत २१ साउनमा सोही कलेजमा प्रचण्ड–नेपाल समूहले पत्रकारहरूसँगको अनौपचारिक अन्तत्र्रिmया समेत गरेको थियो । त्यसयता ओली–प्रचण्ड संवाद ठप्प बनेको थियो । १८ साउनदेखि २० साउनसम्मको बैठकमा ओलीका तर्फबाट दलका उपनेता नेम्वाङ र प्रचण्डका तर्फबाट वरिष्ठ नेता खनाल छलफलमा सहभागी थिए । तर, पत्रकारहरूसँगको अन्तत्र्रिmयापछि दुवै अध्यक्षबीच संवाद रोकिएपछि दोस्रो तहका नेताहरू सुचारुका लागि निरन्तर दौडधुपमा लागेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७