सडकमा क्रस गरेर अकासे पानी र ढल, सरकार र स्थानीय तह बने रमिते


३० श्रावण २०७७, शुक्रबार
Sadak 2

काठमाडौं, ३० साउन । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ मा सडकमाथि क्रस गरेर पानी र ढल बग्ने बनाएपछि सडकमै डुबान भइरहेको छ । वर्षाको पानी बगेर सडक भत्किएपछि त्यस क्षेत्रमा सवारी साधन घण्टौं जाममा पर्दै आएका छन् भने सवारी साधन हिलोमा फस्ने गरेका छन् ।

महालक्ष्मी नगरपालिकाको सिद्धिपुर सडक पूरै हिलाम्मे हुँदा बिहीबार दिनभरि नै सवारी साधन जाममा परेका छन् । स्थानीय बालगोविन्द महर्जनले मुआब्जा लिएर पनि आफ्नो घर अगाडिबाट पानी बग्न नदिएपछि ग्वार्को–लुभु आवातजावत गर्ने सवारी साधनको बिचल्ली हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।

एक स्थानीयका अनुसार महर्जनले आफ्नो घर अगाडिबाट वर्षाको पानी बग्न नदिएर सडक क्रस गराएर वर्षाको पानी सडकमा हालेका हुन् । स्थानीयले नगरपालिका र स्थानीय प्रशासनले वर्षाको पानी सडकमा हाल्ने बनाउँदा पनि मुकदर्शक बनेको भन्दै आक्रोस पोखेका छन् ।

स्थानीय गोविन्द महर्जनले दायाँबाट बग्ने पानी दायाँ र बायाँबाट बग्ने बायाँबाट बग्न दिनुपर्नेमा क्रस गराएपछि सडक हिलाम्मे भएको र पानी पर्दा सवारी साधनहरू घण्टौं जाममा पर्ने गरेको बताए । वर्षासँगै निरन्तर पानी परेपछि उक्त स्थानमा दुई महिनादेखि समस्या पर्दै आएको छ ।

ग्वार्को–लामाटार हुँदै लुभुदेखि काभ्रे पनौतीसम्म सडक सञ्जालले जोड्ने उक्त क्षेत्रमा सरकारले पनि सडक मर्मत सम्भारमा ध्यान नदिएको स्थानीयको गुनासो छ । सडक फराकिलो बनाउने कार्यअन्तर्गत त्यस क्षेत्रमा पिचको काम पनि हुँदै आएको छ तर त्यसमा पनि ढिलासुस्ती भएको स्थानीय बताउँछन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७