संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी नै धमाधम संक्रमित, जोखिम झनै बढ्यो


३० श्रावण २०७७, शुक्रबार
korona

काठमाडौं, ३० साउन । कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ । कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म देशभर १ सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित थिए । त्यसयता पनि देशभरका विभिन्न अस्पतालहरूमा थप स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यो संख्या दिनहुँ बढ्दो क्रममा छ ।

हालसम्म प्रदेश १ मा आठजना स्वास्थ्यकर्मी संक्रमित छन् । त्यस्तै प्रदेश २ मा ७८ जना र बागमती प्रदेशमा १६ जना स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा संक्रमित स्वास्थ्यकर्मीको संख्या २० पुगेको छ भने प्रदेश ५ मा महिला १२ र कर्णाली प्रदेशमा २२ जना स्वास्थ्यकर्मी संक्रमित छन् । सुदूरपश्चिम प्रदेशमा २७ जना छन् ।

नोबल मेडिकल कलेज विराटनगर र वीर अस्पतालमा कार्यरत दुईजना चिकित्सकको शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयले चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मुलुकभरका अस्पतालमा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्र कामकाजमा लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘फ्रन्ट लाइनमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई अनिवार्यरूपमा पीसीआर परीक्षण गराई कामकाजमा लगाउनु पर्छ ।’

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुई चिकित्सक र चारजना नर्स संक्रमित छन् । त्यस्तै कपिलवस्तु जिल्ला अस्पतालका डाक्टर, नर्स र प्रयोगशालाकर्मीसहित १६ जना संक्रमित छन् । वीर अस्पतालका तीन जना चिकित्सकमा यसअघि नै कोरोना संक्रमणको पुष्टि भइसकेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७