नेकपाका केन्द्रीय सदस्य काफ्लेलाई कोरोना भाइरस संक्रमण


३० श्रावण २०७७, शुक्रबार
09723318b75bb3d1a8ddebe9074af755 w1000 h500 cp

काठमाडौं, ३० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य अच्युतम काफ्लेलाई कोरोना संक्रमण भएको छ ।

सर्लाहीको हरिवनका ६८ वर्षीय नेता काफ्लेलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । उनी नेकपा सर्लाहीको सहइन्चार्ज समेत हुन् ।

समुदायमा संक्रमण फैलिएको आशंकामा हरिवन नगरपालिकाले २६ साउनमा नगर क्षेत्रका जनसम्पर्क धेरै हुने विभिन्न कार्यालयका कर्मचारी, संघसंस्थाका प्रतिनिधि र राजनीतिक दलका नेता र कार्यकर्ता गरी ४२० जनाको स्वाब संकलन गरिएको हो ।

त्यसमध्ये नेता काफ्लेसहित २२ जनामा कोरोना संक्रमण देखिएको मेयर गणेश प्रसाईंले जानकारी दिएका छन् । संक्रमण पुष्टि भएका केन्द्रीय सदस्य काफ्ले हाल हरिवनस्थित आफ्नै घरमा छन् ।

आफूमा अहिलेसम्म कुनै लक्षण नदेखिएको जानकारी दिंदै काफ्लेले भने, ‘राति मेयर गणेश प्रसाईंले फोन गरेर दाइ तपाईंको रिपार्ट पोजेटिभ आयो भनेर जानकारी गराउनु भयो, रिपोर्ट पोजेटिभ आयो भन्ने खबर सुन्दा म आफै छक्क परेको छु, कसरी संक्रमित भएँ पत्तो छैन ।’

आफूले स्वास्थ्य मापदण्डको पालना गर्दागर्दै पनि संक्रमण देखिएको उनले बताएका छन् । ‘निकै भयो म घरमै बसेको छु, बाहिरफेर पनि त्यति हिँड्दिन,’ उनले भने, ‘पार्टीका बैठक, कार्यक्रम पनि भएका छैनन्, भेटघाट पनि त्यति गर्दिन । तर, कसरी हो, संक्रमित भइसकेछु ।’

उनले अब स्वास्थ्यकर्मीसँगको रायसुझाब लिएर होम आइसोलेसनमै बस्ने जानकारी गराएका छन् । ‘स्वास्थ्यमा कुनै समस्या नदेखिएकाले अहिले अस्पताल जान्न, घरमै स्वास्थ्य मापदण्ड पालना गरेर बस्छु,’ उनले भने । यसअघि नेकपाकै सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई पनि संक्रमण देखिएको थियो । उनी हाल काठमाडौंमा होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७