कोशी अस्पतालको आइसोलेसनमा सिरहाका संक्रमितको मृत्यु


३० श्रावण २०७७, शुक्रबार
korona death

विराटनगर, ३० साउन । कोशी अस्पताल विराटनगरमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । बिहीबार सिराहको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिएका छन् ।

बिहीबार कोशी अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको डाक्टर दासले जानकारी दिएका छन् ।

उनको बिहीबार दिउँसो स्वाब संकलन गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन खोजिएको थियो । तर धरानले बेड खाली नभएको बताएपछि कोशी अस्पतालको आइसोलेसनमै राखिएको थियो ।

बिहीबार नै कोशी अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका– १५ का ३३ वर्षीय युवकको मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिएका विराटनगरका युवकको रिपोर्ट नेगेटिभ आएको डाक्टर दासले जानकारी दिए । योसँगै मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । ९ मध्ये ६ जनाको कोशी अस्पतालमा मृत्यु भएको छ ।

प्रदेश १ सरकारको तथ्यांक अनुसार यसअघि विराटनगर– ९ का दुई जना, विराटनगर– ३, ५ र १० का एक–एक जनाको मृत्यु भएको थियो । रंगेली नगरपालिका–८, सुनबर्सी नगरपालिका–८ र बुढीगंगा गाउँपालिका– २ का एक–एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७