आरती स्ट्रिप्सका ५१ मजदुरमा कोरोना संक्रमण, दुई संक्रमित फरार


३० श्रावण २०७७, शुक्रबार
Aarati Strips Morang 1

मोरङ, ३० साउन । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा कोरोना संक्रमित कामदारको संख्या ५१ पुगेको छ । बिहीबार थप २१ कामदारमा संक्रमण देखिएसँगै संक्रमित कर्मचारी तथा मजदुरको संख्या ५१ पुगेको हो ।

बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीका बिहीबारसम्म उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएको छ । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको उनले बताए । संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै राखिएको छ । केही कर्मचारी होम आइसोलेसनमा छन् ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना भने फरार छन् । फरार भएका संक्रमित भारतीय नागरिक हुन् । बुढीगंगा गाउँपालिका वडा नम्बर– १ का अध्यक्ष युवराज पौडेलका अनुसार फरार भएकाहरु भारत गएको आशंका गरिएको छ ।

फरार भएका कामदार विराटनगर प्रवेशद्वार नजिकै डेरा भाडा लिएर बस्दै आएका थिए । ‘भागेकाहरु भारत नै पुगे जस्तो लाग्छ,’ वडाअध्यक्ष पौडेलले भने, ‘स्वाब संकलन गरिएको थियो, तर रिपोर्ट आउनुअघि नै भागे छन् ।’

अध्यक्ष पौडेलका अनुसार कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको उद्योगमा काम गर्ने अधिकांश कामदार भारतीय नागरिक छन् । लकडाउनमा भारतबाट उद्योगमा आउने मालबाहक गाडीसँगै कामदार ल्याएका कारण कोरोना फैलिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७