कोशी अस्पतालको आइसोलेसनमै अर्का युवकको मृत्यु, कोरोनाको रिपोर्ट पोजेटिभ


प्रकाशित मिति : 14 August, 2020 10:11 am

मोरङ, ३० साउन । मोरङस्थित कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमणका कारण थप एक युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको उपचारकै क्रममा भएको हो । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।

विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिएका छन् ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई आफन्तले विहीबार बिहान कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । तर रिपोर्ट नआउँदै बिहीबार दिउँसो ४ बजे उनको मृत्यु भयो ।

बिहान संकलन गरिएको स्वाबको रिपोर्ट बेलुका नेगेटिभ आयो । तर रिपोर्ट शंकास्पद लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ‘सुरुको रिपोर्ट नेगेटिभ आयो, शंका लागेर पुनः स्वाब संकलन गरेका थियौं,’ डाक्टर दासले भने, ‘आज बिहान पोजेटिभ रिपोर्ट आयो ।’

कोरोनाको पीसीआर जाँच गर्दा प्रतिसयमा करिब ७० प्रतिशत सही रिपोर्ट आउँछ । मेसिनको अवस्था र संकलन गरिएको स्वाबका कारण कहिलेकाहीं पोजेटिभलाई नगेटिभ देखाउन सक्ने प्राविधिकहरु बताउँछन् । सामान्यतया पोजेटिभ देखिएको केसको दुई पटक पीसीआर जाँच गरिन्छ । योसँगै विराटनगरभित्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ

प्रतिक्रिया दिनुहोस्