९० प्रतिशतमा विद्युत पहुँच


३१ श्रावण २०७७, शनिबार
bijuli
फाइल फोटो

काठमाडौं, ३१ साउन । मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घर परिवारमा विद्युत्को पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ ।

प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९.०५ घरपरिवारमा विद्युत् पुगेको छ । प्राधिकरणले कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत विद्युतीकरण गरेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेको ठाउँमा सौर्य, लघु जलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको तथ्याङअनुसार, अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।

‘आव २०७२–०७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो, चार वर्षभित्र २३.२८ प्रतिशतले विद्युतको पहुँचमा बृद्धि भई अहिले ८६.४४ प्रतिशत पुगेको छ’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।

‘आगामी साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युतको पहुँच पुर्‍याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाएका छौ, यसकां लागि बजेटको जोहो भइसकेको छ ।’ एसियाली पूर्वाधार लगानी बैकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्दैछ ।

सरकारले २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्‍याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पुर्‍याउने लक्ष्य राखेको छ । अहिले प्रतिव्यक्ति ऊर्जा खपत २ सय ६० युनिट पुगेको छ ।

कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण प्रणालीबाट (ग्रिड) ३०.५७ र अफ ग्रिडबाट ४.१७ प्रतिशत विद्युतीकरण गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण ग्रिड पुगेको छैन ।

प्राधिकरणले ती जिल्लामा माइक्रो हाइड्रोमार्फत विद्युत् आपूर्ति गरिरहेको छ । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशमा विद्युतीकरण चुनौतीपूर्ण रहेको घिसिङले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७