विवाह बन्धन कि स्वतन्त्रता ?


१ भाद्र २०७७, सोमबार
suman article

विवाह मानव जीवनकालको जैविक प्रक्रिया हो । एक स्वतन्त्रत क्रियाकलाप हो । संस्कृति निर्माणको क्रममा विवाहलाई साँघुरो बनाउदै बन्धनको रूपमा मानिन थाल्यो । विवाह बन्धन नभएर, सहज जीवनयापन गर्नका लागि अपनाइने एक सरल प्रक्रिया हो । अतः विवाह सँस्कृतिको रूपमा विकास भयो ।

मान्छे जन्मँदा स्वतन्त्र जन्मन्छ । जन्मेपछि आ–आफ्नो भूगोल अनुसार, जाति अनुसारको संस्कार–संस्कृति अनुसार सांस्कृतिक दायराले छेकिन्छ र मान्छे सांस्कृतिक चौघेरामा आफ्नो जीवनकाल व्यतीत गर्छ ।

संस्कृति आफैमा भूगोल जाति अनुसारको जीवन विज्ञान पद्धति हो । जसले मानव सभ्यतालाई यहाँसम्म डो¥याएर ल्याएको छ । समाजशास्त्री इ.बि. टेलरले संस्कृतिको विषयमा आफ्नो मत यसरी राखेका छन्, ‘संस्कृति त्यो सम्पूर्ण जटिलता हो जसमा ज्ञान, विश्वास, कला, नैतिकता, कानुन प्रथा तथा त्यस्ता सम्पूर्ण क्षमता एवम् गुणहरू सम्मिलित हुन्छन्, जसलाई मानवले समाजको एक सदस्यको हैसियतले आर्जन गर्दछ ।’

चाल्र्स डार्विनको विकासवादी सिद्धान्त अनुसार पृथ्वीमा उत्पन्न जीवहरूको मूलआधार प्रोटोप्लाज्म तत्व हो । त्यहि तत्वबाट पानीमा एककोषीय ‘पोटोजोवा’झ जीवकोषको विकास हुँदै एवम् प्रकारले विकास हुने क्रममा उक्त कोष बहुकोषिय ‘मेटोजोवा’ जीवमा विकसित भयो ।

यहि मेटोजोवाबाट लामो समयको अन्तरालपछि पानीमा कछुवा, माछा तथा वनस्पतहरू र जमिनमा डायनोसर, सर्प, बाँदरहरूको उत्पति भयो । बाँदरको एक प्रजाति विकसित हुँदै मानव भएको पुष्टि भएको छ । यसरी हेर्दा मानव सभ्यताले समकालीन युगसम्मको यात्रा तय गर्दै गर्दा जङ्गली युगबाट यात्रा शुरू भएको मानिन्छ ।

मान्छेहरू ओढारमा बस्थे, जङ्गलबाट आफ्नो गुजरा चलाउँथे । त्यो मानव कालखण्डलाई जङ्गली युग अर्थात आदिम साम्यवादी युग भनेर भन्ने गरिन्छ । यो समय मातृ सत्तात्मक युग थियो । खुल्ला यौन व्यवस्था थियो । जन्मिएका सन्तानको पहिचान आमाबाट हुन्थ्यो । बहुको पहिचान गर्नै कठिन हुन्थ्यो । जब मानिसहरूको जनसंख्या बढ्न थाल्यो । जङ्गलमा कन्दमुल र शिकारको अभाव हुन थाल्यो ।

अभावै अभावले मान्छेहरू खोलाको किनारा, फराकिलो फाँटमा अलि अलि खेति गर्न थाले कृषि युगकोशसुरूवात भयो । जब कृषिमा उत्पादन बढ्न थाल्यो तब मान्छेको मन लोभी हुन थाल्यो । मान्छेहरूबीच एक अर्कामा कृषि बाली र पशुधन लुटालुट गर्न थाले क्रमशः युद्धको शुरूवात भयो ।

स्वभावैले महिला भन्दा पुरूष शारीरिक रूपमा बलियो भएका कारण पुरूषहरू युद्धमा खटिए पशुधन र कृषि बाली लुटेर आफ्नो बनाए । युद्धमा हारेकाहरूलाई दास बनाउन थाले दास युगको शुरूवात भयो । आफूले युद्ध गरेर लुटेर कमाएको पशुधन र कृषिबाली आफ्ना मात्र सन्तानले खान पाउन र त्यो जायजेथाको मालिक कालान्तरसम्म आफ्नै शाखा सन्तान मात्र हुन पाउन भन्ने शासकीय सोचको विकास भयो ।

आफ्नै मात्र सन्तान हो भनेर किटान गर्नका लागि पुरूष आफूले मात्र महिलासँग यौन सम्बन्ध राख्नु प¥यो अनि मात्र आफ्नै सन्तान हो भन्ने ग्यारेन्टी भयो । आफ्नो मात्र सन्तान जन्माउनका लागि अर्काे गणबाट महिलाहरू लुटेर ल्याए यौनदासीको रूपमा सन्तान जन्माउनका खातिर महिलाहरू प्रयोग गरियो । आजभोलि हाम्रो समाजमा विवाह पवित्र मानिन्छ । तर, विवाह लुटेर ल्याउने गलत परम्परादेखि शुरू भएको हो । यसरी लुटेर ल्याउने परम्परादेखि शुरू भएको विवाह संस्कारको रूपमा विकास भयो ।

मानव जीवनमा जातीय एवम् धार्मिक संस्कारहरू धेरै छन् । त्यसमध्ये मानव जीवनको महत्वपूर्ण संस्कारहरू मान्छे जन्मेपछि संस्कृतिक चालचलन, कुल वंश अनुसार नाम अर्थात पहिचान दिइन्छ । मृत्यु पर्यान्तसम्म त्यस पहिचान स्थापित रहन्छ । मान्छेको जन्म पछि तीन संस्कार अति महत्वपूर्ण छ ।

मान्छेको नाम राख्ने, पहिचान दिने अर्थात न्वारान गर्ने, विवाह र मृत्यु संस्कार मानव जीवनको अनिवार्य संस्कार हुन् । उल्लेखित संस्कारहरू जाति धर्मपिच्छे फरक फरक तरिकाले गरिन्छ । त्यसमा पनि हिन्दु धर्मग्रहन्थहरूमा मानव जीवनको सबै भन्दा धेरै संस्कारहरू उल्लेख गरिएको छ । जुन संस्कार १६ वटा उल्लेख छ । जसलाई षोडश संस्कार भनिन्छ ।

प्रायः पुरूष अस्तित्वमा बढवा दिएर महिला छायाँमा पारिएको षोडश संस्कार या त अन्य अन्य धर्महरूको ग्रन्थमा जे जसरी लेखिए पनि जाति, कुलवंशहरूले जे जे मानेर आए पनि मानव जीवनको मुख्य संस्कार नामाकरण कर्म संस्कार अर्थात न्वारान, विवाह र मृत्यु संस्कार मुख्य हुन् । उल्लेखित तीन संस्कारमध्ये विवाह के हो ? विवाहले जीवनमा के महत्व राख्छ ?

विवाह मानव सभ्यतासँग धेरै पछि जोडिएर आएको एउटा महत्वपूर्ण संस्कार हो । जुन मानव जीवनमा महत्वपूर्ण मानिन्छ । मानव सभ्यतामा विवाह धेरै पछि जोडिएको संस्कार हो । यसो भनिरहँदा प्रश्न उठ्न सक्छ, जङ्गली अवस्थामा बस्दा मान्छेले सन्तान जन्माउथे कसरी ? विवाह सन्तान जन्माउने प्रक्रिया मात्र हो र ? विवाह प्राकृतिक नियम हो ? विवाह संस्कार हो कि आवश्यकता ? विवाह बन्धन हो कि स्वतन्त्रता ? कि नारी पुरूष बीचको प्रगाढ प्रेम हो विवाह ?

स्वाभावैले विवाह दुई विपरीत लिङ्गीहरूको मिलन हो । त्यसैले जोडी छनौटको स्वतन्त्रता महिला पुरूष दुवैमा हुनुपर्ने हो तर, त्यसो नभएर जोडी छनोटको स्वतन्त्रता पुरूषमा मात्र सीमित गरियो । जोडी छनोटको स्वतन्त्रताबाट महिलालाई बञ्चित गरियो ।

धर्मको विकास भयो । धर्म ग्रहन्थहरूमा पुरूषको मुख, हात, जाङ र पैतालाबाट मान्छेको उत्पति भएको हो भनेर महिलाको प्रजनन क्षमताको धज्जी उडाइयो र महिला (कन्या) सर्बाेउत्तम दानको रूपमा दिइने उपभोग्य वस्तु मानियो । महिलाको उमेरको हदबन्दी तोकियो पाँच बर्षको कन्या गौरीसमान र आठ बर्षको कन्या रोहिणी समान हुन्छन् भनेर भनियो ।

महिलाको विवाह गर्ने उमेर पाँचदेखि आठ वर्षसम्म हो । १२ वर्षसम्म प्रायश्चित गर्न सकिन्छ भनेर धर्म ग्रहन्थहरूमा लेखियो । विवाह आठ प्रकारमा छुट्याइयो । जस्तै ब्राह्म विवाह, दैव विवाह, आर्ष विवाह, प्रजापत्य विवाह, आसुर विवाह, गान्धर्व विवाह, राक्षस विवाह, पिशाच विवाह । विवाहलाई यसरी वर्गीकरण गर्नु भनेको वर्णीय आधारमा फरक फरक विवाह हुनु पर्छ भन्ने मान्यता हो ।

पछिल्लो समय जात व्यवस्थाको स्थापनासँगै एउटै जातकभित्र विवाहलाई सीमित गराइयो । विवाहमा जातीय र वर्गीय खाडल निर्माण भयो । छुट्टाछुट्टै नश्लको छुटिन पुग्यो समाज नै ध्रुवीकरण भयो । नश्लकै आधारमा मालिक नश्लकै आधारमा दासको मनोविज्ञानले घर गर्‍यो ।

अतः जर्ज इस्टिभेन्सनले वाफबाट चल्ने मेसिनको आविष्कार गरे पुँजीवादको स्थापना भयो । कलकारखाना खोल्न थालियो । मान्छे आफ्नो कुलवंश छोडेर रोजगारीको लागि धेरै टाढा टाढा पुगे । मान्छे कुलवंश छोडेर धेरै टाढा भएको हुनाले जोडी छनोटको लागि स्वतन्त्र भयो इच्छाएको व्यक्ति मन मिल्ने व्यक्तिसँग स्वेच्छिक विवाह अर्थात प्रेम विवाहको शुरूवात भयो । जोडी छनोटमा मान्छे स्वतन्त्र हुन थाले ।

दुई विपरीत लिङ्गी आर्कषण वा विवाहको प्रमुख सार भनेको व्यवस्थित यौन जीवन नै हो । विवाह समारोहमा सहभागी हुनु भनेको आजको मितिबाट तिमीहरू यौन क्रियाका लागि स्वतन्त्र छौ । सँगै बसेर जीवन चलाउन सक्छौ सन्तान पनि जन्माउन सक्छौ भनेर साक्षी बस्नका लागि विवाह समारोहमा सहभागी हुनु हो ।

विवाह व्यवस्थित यौन जीवनसँगै सन्तान जन्माउने स्वतन्त्रता हुँदै व्यवस्थित जीवन जिउने आधार हो । मानव जीवन स्वाभावैले स्वतन्त्रता खोज्छ । तर विवाह सात जूनीसम्म नछुट्टिने बन्धन भनेर भ्रामत्मक मनोविज्ञानकोको स्थापना गरियो । विवाह सात जूनीसम्म नछुटिने बन्धन हो भने ? विवाह आपराधिक क्रियाकलाप हो । कोठाभित्र पस्न पाउने निस्कन चाहिँ नपाउने पनि नियम हुन्छ र ? यसको तात्पर्य के हो भने विवाह सात जूनीसम्मको बन्धन होइन ।

विचार मिल्छ त सँगै बसेर जीवन चलाउन सक्छन् । विचार मिल्दैन त छुटिन सक्नेछन् । विवाह विचारहरूको संगम, माया, सद्भाव, विश्वास र हार्दिकताको बेजोड मिलन हो । विचार, प्रेम, सद्भाव र हार्दिकता विश्वास कहि कतै टुट्यो भने वैवाहिक जीवन पनि टुङ्गीन सक्छ वा नरहन पनि सक्छ । आफूले चाहेको सहज जीवन कायम हुँदैन भने महिला वा पुरूष दुवैले वैवाहिक जीवन तोड्न पनि सक्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७