चीन–भारत जोड्ने छोटो दूरीको किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक अधुरै


३ भाद्र २०७७, बुधबार
kimathanka

संखुवासभा, ३ भदौं । बहुप्रतिक्षित किमाथाङ्का–खाँदबारी सडक खण्डको ट्रयाक खोल्ने कार्य दुई वर्षदेखि बन्द छ ।

संखुवासभाको खाँदबारीबाट एक सय ३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । चीनको सीमाना किमाथाङ्का जोडिन अब १४ किलोमिटर मात्र बाँकी छ । यो सडकको चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ट्रयाक खोल्न बाँकी छ । ती ठाउँमा ठूला चटान र पहाड रहेकाले विस्फोट गरी मात्र ट्रयाक खोल्न सकिने आयोजनाले जनाएको छ ।

जोगवनी किमाथाङ्का सडक विराटनगरको रानीदेखि संखुवासभाको किमाथाङ्कासम्म ३ सय ४० किलोमिटर लामो छ । संखुवासभाको खाँदबारीदेखि किमाथाङ्काको दूरी १६२ किलोमिटर छ । जसमा च्याम्पाङदेखि घोङगोप्पासम्मको १४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । ठूला चटान र पहाडका कारण निर्माण कम्पनीले ट्रयाक खोल्न नसकेपछि उक्त कार्य सेनालाई दिने भनिए पनि हालसम्म त्यसको काम शुरु हुन सकेको छैन ।

चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक मार्ग किमाथाङ्का–विराटनगर–रानी सडकको ट्रयाक खोल्ने कार्य विगत दुई वर्षदेखि रोकिएको हो । सरकारको राष्ट्रिय गौरवको आयोजना किमाथाङ्का–जोगवनी सडकखण्ड दुई वर्षदेखि काम रोकिँदा समेत सरकारको ध्यान पुग्न सकेको छैन ।

खाँदबारी–किमाथाङ्का सडकखण्डको एक सय ६२ किलोमिटर सडकमध्ये १४ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको उत्तर दक्षिण (कोसी) सडक आयोजनाका प्रमुख गौतम कुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी किमाथाङ्का नाकाबाट पनि यस अघि नै १४ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ । दुई वर्ष पहिले नै घोङ्गोप्पासम्म सडक मार्ग खुले पनि त्यसको संरक्षण नहुँदा पहिलेकै अवस्थामा पुग्न लागेको छ ।

सिन्धुपाल्चोकबाट तिव्बत हुँदै डोजर र इन्धन ल्याएर किमाथाङ्काबाट १४ किलोमिटर सडक निर्माण भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । शर्मा–एपेक्स–कान्छाराम कम्पनीले ट्रयाक खेल्ने ठेक्का लिएको किमाथाङ्कादेखि १९ किलोमिटर (१६२ देखी १४३ किलोमिटर) सम्मको सडकमध्ये १४ किलोमिटर दुई वर्ष पहिले नै सम्पन्न गरेको थियो । ट्रयाक खोल्ने जिम्मा सेनालाई दिएपनि काम शुरु नभएपछि संखुुवासभावासी निराशा बनेका छन् ।

त्रिदेशीय लिकंरोड किमाथाङ्का–जोगवनी सडकखण्डको भिर फुुटाउने जिम्मा सेनालाई दिने निर्णयपछि १४ किलोमिटर क्षेत्रको जिम्मेवारी आफ्नो कार्यालयको नरहेको आयोजना प्रमुख श्रेष्ठले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोझै सेनासंग सम्झौता गरेर काम अगाडि बढाउने भएकाले यसबारे आफूलाई कुनै जानकारी नभएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।

ट्रयाक खोल्नका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ राख्ने बङ्कर निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताए । च्याम्ताङदेखि घोङगोप्पासम्म १४ किलोमिटर ट्रयाक खोल्ने कार्यले प्राथमिकता नपाउँदा छिमेकी मुलुक चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक (किमाथाङ्का–जोगवनी सडक खण्ड) ओझेलमा परेको छ ।

सडक निर्माणको काम आर्थिक वर्ष २०६५–०६६ देखि शुरु भएको थियो । उत्तर दक्षिण (कोसी) सडक कार्यालयले यो सडकलाई विभिन्न ७ खण्डमा विभाजन गरी ट्रयाक खोल्ने र स्तरोन्नतीको काम ठेक्कामार्फत शुरु गरेको थियो ।

च्याम्ताङदेखि घोङगोप्पासम्म १४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । २०७६ भदौ २२ गते मन्त्रिपरिषद्को बैठकले किमाथाङ्का–जोगवनी सडकखण्डको १४ किलोमिटर भिर फुुटाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

च्याम्ताङसम्म ट्रयाक खोलेपनि खाँदबारीबाट बरुण दोभानसम्म (८० किलिमिटर) सडकखण्डमा हिउँदमा यातायात सञ्चालन हुने गरेको छ । वर्खायाममा फ्याक्सीन्दासम्म मुुस्किलले यातायत सञ्चालन हुन्छ । यसरी सडक निर्माण र किमाथाङ्का सडक विस्तारसँगै त्यसक्षेत्रमा चहलपहल बढेपनि किमाथाङ्का नाका भने सञ्चालनमा आउन सकेको छैन । सडक विस्तारसँगै यहाँ भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयवासीको माग छ ।

नेपालकै दुई मित्रराष्ट्र चीन–भारत जोड्ने छोटो सडकको रुपमा रानी विराटनगर देखि किमाथाङ्का सडकलाई लिइन्छ । सडक विस्तारले मित्रराष्ट्र चीनसँग व्यापार बढाउने र जिल्लाका उत्तरी भेगका नागरिकले यातायात तथा अन्य सुविधा पाउने छन् ।

यो सडकबाट एक नम्बर प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । किमाथाङ्का नाका चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका मानिन्छ ।

नौ पुल निर्माणका क्रममा
नुमदखि बरुण दोभानसम्म ९ वटा ‘सडक पुल’ निर्माणकोे क्रममा छ । अधिकांश पुल मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले वातावरण प्रभाव मूल्याङ्कन (इआइए) नगरी ठेक्का लगाएकाले समयमा काम सम्पन्न हुन सकेन ।

निकुञ्ज क्षेत्रभन्दा वाहिर रहेका फाक्रे खोलाको पुलको काम समेत ५० प्रतिशत मात्र सम्पन भएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा नै यी सबै पुलको निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । एकुवा खोला, ठाडो खोला र उवा खोलामा पुल निर्माणको काम अहिलेसम्म पनि शुरु हुन नसकेको आयोजनाका सूचना अधिकारी आशिष नेपालले जानकारी दिए ।

नाङ, चाङ, जोर, उवाङ् र वाङ् खोलाको पुलको प्रगति पनि न्यून रहेको उनको भनाइ छ । इआइए नगरी ठेक्का प्रक्रियामा गएका कारण निकुञ्जले काममा वाधा पुर्‍याएकाले पुल निर्माणको काम ढिलाई भएको उनले बताए । यस सडक खण्डमा १८ वटा पक्की पुल निर्माण गर्नुपर्ने छ ।

६५ प्रतिशत काम सम्पन्न
खाँदबारी–किमाथाङ्का (१६२ किमि) सडकअन्र्तगत गत आर्थिक वर्षसम्म ६५ प्रतिशत काम सम्पन्न भएको उत्तर दक्षिण (कोसी) सडक आयोजनाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए ।

ट्रयाक खोल्ने बाहेक सडक स्तरोन्नती, चौडा बनाउने, सव वेस तयार र पुल निर्माणको काम भइरहेको छ । अधिकांश ठेक्काको समय गत आर्थिक वर्षमा सकिएका छन् । दुई पटकसम्म समय म्याद थप गर्दा पनि ती पुलको निर्माण सम्पन्न हुन सकेको छैन् ।

आर्थिक वर्ष २०७६–०७७ मा रु ८४ करोडमध्ये रु ५४ करोड ५० लाख मात्र खर्च भएको आयोजनाका सूचना अधिकारी नेपालले जनकारी दिए । भुक्तानी हुन अझै बाँकी रहेकाले यस महिनाको अन्त्यसम्म थोरै खर्च रकम बढ्ने उनको भनाइ छ । चीन र भारत जोड्ने संखुवासभाको किमाथाङ्का नाका सबैभन्दा छोटो नाकाको रुपमा रहेको छ । अहिलेसम्म यो सडकखण्डमा रु तीन अर्ब खर्च भइसकेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७