अछाम बाढी : १२ जनाको शव फेला, पाँच जनाको खोजी जारी


३ भाद्र २०७७, बुधबार
d7c3d39ead5128fed57c0cc6d7bb30c4 w1000 h500 cp

अछाम, ३ भदौं । गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ ।

रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

उनले भने, ‘सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना बगाएको छ, खोजीमा खटिएको टोलीले निकै टाढा शव भेटाएको छ, खोलामा अहिलेसम्म पनि ठूलो बाढी आएका कारण खोजीमा निकै समस्या छ ।’

नेपाली सेनाको एआइ १७ हेलिकप्टर बाढीले बगाएकाहरुको खोजीका लागि परिचालन भएको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले जानकारी दिए । उक्त खोजीमा अछामका प्रजिअ उपाध्याय, भवानी बक्सका गणपति लोचन कार्की तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ६ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा १२ जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण अहिलेसम्म पहिचान हुन सकेको छैन । गए राति ठूलो वर्षातका कारण उक्त खोलामा बाढी आएका कारण आ–आफ्ना पसलमा सुतेका स्थानीयवासीलाई बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीले बगाएर बेपत्ता भएकाको खोजीका लागि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदले बताए । उनले भने, ‘बाढीले बगाएर बेपत्ता भएकाहरुको खोजीका लागि बिहानैदेखि टोली खटिएको छ, ठूलो जनधनको क्षति भएको छ, खोजी गर्दैछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७