प्रेस काउन्सिल विवाद : किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश


३ भाद्र २०७७, बुधबार
Kishor Shrestha

काठमाडौं, ३ भदौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाई नै काम गर्न दिन सर्वोच्च अदालतले आज (बुधबार) अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्नु पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउन २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा ल्याएको थियो ।

त्यस लगत्तै साउन ३२ गते सरकारले अधिवक्ता दुर्गा भण्डारी पौडेललाई प्रेस काउन्सिल सदस्यमा नियुक्ति दिँदै त्यसको एक दिनपछि भदौ १ गते राति कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।

सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल वोर्डले आइतबार नै सर्वोच्च अदालतमा रिट हालेको थियो । सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा कामकाज गर्न रोक लगाई दिएको छ ।

सर्वोच्च अदालतले बुधबार जारी गरेको अन्तरिम आदेशमा सरकारले नियमावलीमा गरेको संशोधन नै काउन्सिलको ऐन विपरित रहेको र यसले प्रेस काउन्सिलको स्वायत्ततामा असर गर्ने भन्दै नियमावलीमा थप गरिएको नियम ३ (क) लाई तत्काल कार्यन्वयनमा नल्याउन सरकारको नाममा अन्तरिम आदेश दिइएको हो ।

सर्वोच्चले अन्तरिम आदेश दिए लगत्तै अब भण्डारीले कार्यवाहक अध्यक्षका रुपमा काम कारवाही गर्न पाउँदिनन् । यद्यपि प्रेस काउन्सिलको सदस्य पदमा रहेर काम गर्न भने उनलाई रोकिएको छैन ।

यसअघि पनि सरकारले काउन्सिलको ऐनविपरीत नवलकिशोर यादवलाई काउन्सिलको कार्यवाहक अध्यक्ष तोकेर नियुक्ति दिएको थियो । तर काउन्सिल वोर्ड आफैले उक्त नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च पुगेपछि सर्वोच्चले नवलकिशोर यादवलाई कार्यवाहक अध्यक्षका रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रेस काउन्सिल ऐन, २०४८ मा पनि अध्यक्ष नभएको अवस्थामा कार्यवाहक अध्यक्ष छान्ने अधिकार काउन्सिल वोर्डलाई दिएको छ । वोर्डले कार्याविधि बनाएर सदस्यमध्येबाट वरिष्ठ वा सर्वसम्मतिका आधारमा कार्यवाहक अध्यक्ष छान्न पाउने व्यवस्था गरिएको छ ।

४ वर्षे पदावधि सकेर हालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ असोज १२ गते घर फर्कदै छन् । तर प्रधानमन्त्री ओली निकटका केही सञ्चारमाध्यमले तथ्यहिन समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै काउन्सिलले कारवाही गरेपछि प्रधानमन्त्री ओली हालका कार्यवाहक अध्यक्ष श्रेष्ठसँग रुष्ट थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७