नेकपा एमालेलाई नेकपासँग मिल्दोजुल्दो चुनाव चिह्न


४ भाद्र २०७७, बिहीबार
nirbachan aayoga

काठमाडौं, ४ भदौं । निर्वाचन आयोगले सत्तारुढ दल नेकपाको चुनावी चिह्नसँग मेल खाने गरी नयाँ राजनीतिक दललाई पनि चुनाव चिह्न प्रदान गरेको छ ।

सत्तारुढ दल नेकपा र बुधबार आयोगबाट दलको प्रमाणपत्र पाएको नेकपा एमाले दुवैको चुनाव चिह्न सूर्य भएको छ । नेकपाको चुनाव चिह्न सूर्य र नेकपा एमालेको उदाउँदै गरेको सूर्य भएको छ ।

तर, निर्वाचन आयोगले दुवै दलको चिह्न सूर्य भए पनि फरक रहेको दाबी गरेको छ । दुवै दलको चुनाव चिह्न सूर्य कसरी हुन्छ ? आयोग प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘नेकपा र अहिलेको नेकपा एमालेको चिह्न सूर्य नै भए पनि फरक छ ।

अहिले प्रयोग भइरहेको सूर्यचाहिँ सूर्य चिह्न मात्रै छ । अहिले नेकपा एमालेले प्रस्ताव गरेकोमा चाहिँ दुई डाँडाको बीचमा उदाउँदै गरेको सूर्य छ ।’ प्रवक्ता श्रेष्ठले भने, ‘यसअघि पनि आयोगले गाई र गोरु चिह्न, रोलर र डोजर चिह्न पनि दिएको छ । आयोगले त्यसलाई फरक नै मानेको छ ।’

नेकपा एमालेका महासचिव मनीषकुमार उपाध्यायले जिन्दगीमा कहिल्यै नअस्ताउने पार्टीको रूपमा आफूहरूले उदाउँदै गरेको सूर्यलाई चिह्नको रूपमा लिएको बताए । ‘उदाइसकेको सूर्य कस्तो हुन्छ सबैले देखिसकेका छौं, अस्ताए जस्तै भएको छ । अब हामी मदन भण्डारीको पथमा लाग्ने हो । जिन्दगीमा पनि नअस्ताउने भनेर हामीले उदाउँदै गरेको सूर्य चिह्न लिएका हौँ । उदाउँदै गरेको छ, जिन्दगी अस्ताउँदैन भनेको हो ।’

निर्वाचन आयोगको बुधबार बसेको बैठकले नेकपा एमालेलाई सबै कागजात हेरेर प्रमाणपत्र दिने निर्णय गरेको थियो । आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘बुधबार बैठक बसेर हामीले प्रमाणपत्र दिने निर्णय गरेका थियौँ । उहाँहरूले पेस गरेको कागजपत्र अध्ययन गरेर प्रमाणपत्र दिएका छौँ ।’

आयोगले दिएको प्रमाणपत्रअनुसार उक्त दलको दर्ता नम्बर १६० रहेको छ । पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) रहेको छ । नाममा कतै पनि कमा, फुलिस्टप राखिएको छैन । राजनीतिक दलको केन्द्रीय कार्यालय कामनपा–१० काठमाडौंमा रहने बताइएको छ ।

नेकपा एमालेका महासचिव उपाध्यायले आयोगले निर्णय गरेपछि आठ–दशजना पदाधिकारी पुगेर प्रमाणपत्र लिएको बताए । उनले नयाँ भने, ‘हामीले प्रमाणपत्र लियौं, अब पार्टीका क्रियाकलाप अघि बढाउँछौं ।’

पूर्व एमाले नेताहरूसँग निकट व्यक्तिहरूले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेका थिए । नेकपा एमालेमा २१ जना पदाधिकारी रहेका छन् । विराटनगर–६ मोरङ घर भएकी सन्ध्या तिवारी पार्टीको अध्यक्ष छिन् । त्यस्तै, भगवती खड्का उपाध्यक्ष, मनीषकुमार उपाध्याय महासचिव, अस्मिता सुनार सचिवलगायत पदाधिकारी रहेका छन् ।

नेकपा एमाले र माओवादी पार्टी एकता भएको वर्ष दिन नाघिसकेकाले नेकपा एमालेनामक दल दर्ताका लागि बाटो खुलेको थियो । ‘पार्टीको नाम नदोहोरियोस् र कुनै पार्टीको एउटा नाम लिइसकेपछि त्यो नाम अरूले प्रयोग नगरोस् भन्नका लागि एक वर्षको म्याद राखिन्छ । तर, दुई पार्टी एकता भएको एक वर्षपछि नाम भने प्रयोग गर्न सक्छन्,’ आयोग प्रवक्ताले भने । दुई वर्षअघि नेकपा गठन भएसँगै नेकपा एमाले र माओवादी पार्टी भंग भएका थिए ।

पूर्व एमाले नेताहरूसँग निकट व्यक्तिहरूले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेका थिए । मदन भण्डारीको जन्मदिन पारेर उनीहरूले १४ असारमा दल दर्ताको निवेदन दिएका थिए । त्यसपछि यो विषय १६ असारको नेकपाको स्थायी कमिटी बैठकमा ठूलो मुद्दा बनेको थियो ।

उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा नेकपा एमाले दर्ताका लागि निवेदन आएको ठोकुवा गरेका थिए । उनको भनाइ थियो, ‘नेकपा एमाले दर्तामा केपी शर्मा ओलीको हात छ ।

मसँग प्रमाण छ, सूचना छ, यदि छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु ।’ नेकपा एमाले दल दर्ताको निवेदन आयोग पुगेपछि एउटा समूहले ओलीले पार्टी विभाजन गर्ने रणनीतिअनुसार नयाँ दल दर्ता गराउन लगाएको आरोप लागेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७