राष्ट्रिय आवश्यकताले एकीकरण प्रक्रिया थालेका हौं : प्रचण्ड


२२ आश्विन २०७४, आईतवार
Prachanda 1

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकैस्थानमा उभिनुपर्ने अवस्था आएको बताएको छ । नेकपा (माले)बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पनि एकता जरुरी रहेको बताएका हुन् ।

Prachanda 1

उनले भने, ‘ध्रुवीकरणको प्रक्रिया राष्ट्रिय आवश्यकता हो । समयको चाहना हो । समाजवादी क्रान्तिको आधार तयार पार्न हामीले एकीकृत प्रयास गर्न लागेका हौँ ।’ विचार, सिद्धान्त र समयको आवश्यकताका आधारमा नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति पार्टीकाबीचमा एकता अत्यावश्यक र जरुरी रहेको भन्दै उनले संविधान प्रदत्त समाजवादलाई लागू गराउनु आफूहरुको ध्येय रहेको स्पष्ट पारे ।

हिमाल, पहाड, तराईलाई एकीकृत बनाएर संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण पछिल्लो दिनमा पार्टीप्रति आर्कषण बढेको उनको दाबी थियो ।

फरक प्रसंगमा अध्यक्ष दाहालले विकास र समृद्धिमा पछाडि पारिएको सुदूरपश्चिम एवं ७ नं प्रदेशलाई समुन्नत बनाउन आफ्नो पार्टीले विशेष पहल गरेको बताएका छन् ।

‘लामो समय प्रदेश नं ७ लाई पछाडि पारियो, अब त्यस्तो हुन दिइँदैन । विकासको लहर ल्याउन पनि सबै पक्ष एकीकृत र एकजुट हुनु जरुरी छ’ उनले भने । समाजवाद निर्माणको आधार सेती महाकालीको समृद्धिले निर्धारण गर्ने उनको भनाइ थियो । आर्थिक समृद्धि र परिवर्तनको चाहनालाई पूरा गर्ने लक्ष्यका साथ आफू माओवादी केन्द्रमा प्रवेश गरेको सांसद महराको भनाइ थियो । उनी मालेका तर्फबाट समानुपातिक सांसद् हुन् ।

कार्यक्रममा मालेका नेताहरु कुमा शाही, जानकी ठगुन्ना, भुपेश्वरी शाहीलगायत नेता कार्यकर्तालाई अध्यक्ष दाहालले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेस कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापा, वर्षमान पुन, लेखराज भट्ट, उर्मिला अर्याल र प्रवक्ता पम्फा भुसाललगायतको उपस्थिति थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७