निषेधाज्ञामा कडाइ : काठमाडौं उपत्यका विहानैबाट सुनसान


४ भाद्र २०७७, बिहीबार
Kathmandu Roads 2 scaled

काठमाडौं, ४ भदौं । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञामा कडाइ गरिएको छ । उपत्यकामा कडाइका साथ निषेधाज्ञा लागू भएपछि आज (बिहीबार) बिहानैदेखि उपत्यकाका सडक र मुख्य चोकहरू सुनसान भएका छन् ।

मध्यराति १२ बजेदेखि निषेधाज्ञा शुरू भएको छ । बुधबार मध्यराति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ । काठमाडौं उपत्यकाको भक्तपुर, काठमाडौं र ललितपुरमा निषेधाज्ञा लागू भएसँगै चोकहरूमा सुरक्षाकर्मी बाक्लो संख्यामा खटिएका छन् ।

अत्यावश्यक काम बाहेक हिंड्नेलाई प्रहरीले रोकेको छ । मर्निङ वाकमा समेत ननिस्कन प्रहरीले आग्रह गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा कोरोना संक्रमण तीब्ररुपमा फैलिइरहेका कारण घर बाहिर ननिस्कन माइकिङ्ग गर्दै सर्वसाधरणलाई सूचित गराउँदै आएको छ ।

काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निषेधाज्ञा कडाइका साथ पालना गर्नेरगराउने निर्णय भएको हो ।

कोरोना सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण कार्यका लागि बुधबार रातिबाट एक हप्ता भदौ १० गते बुधबार रातिसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान आग्रह गरिएको छ । निषेधाज्ञा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

अत्यावश्यक यातायात सेवाहरू दमकल, बिरामी बोकेका एम्बुलेन्स, शव वाहन, ढुवानीजन्य खाद्य, इन्धन, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सवार सवारी साधन बाहेकलाई उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले औषधि र खाद्यवस्तु तथा अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरे । उनले अटेर गर्नेलाई कारबाहीको समेत चेतावनी दिए ।

उपत्यकाभित्र मालवाहक ढुवानीका सवारी साधन तथा विद्युत्, दूरसञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा जाने बिरामी, मृत्यु संस्कारका लागि हिंडेका सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सवार साधनमा रोक लगाइएको छैन ।

कोभिड–१९ नियन्त्रणमा खटिएका राष्ट्रसेवक कर्मचारी, नियमित सेवा प्रदान गर्न अनिवार्य गरिएका कार्यालयका कर्मचारीको हकमा भने बिहान ९ बजेदेखि १०.३० बजेसम्म र साँझ ३ बजेदेखि ५.३० बजेको समय निर्धारण गरिएको छ । यसका लागि ती कार्यालयहरूले न्यूनतम कर्मचारीको संख्या निर्धारण गर्नुका साथै कार्यालयबाट जारी फोटोसहितको परिचयपत्र अनिवार्य गरिएको छ ।

निषेधाज्ञामा मन्त्रालय लगायत कतिपय सरकारी कार्यालय भने खुला हुनेछन् । सञ्चार गृह तथा सञ्चारकर्मीहरूका लागि भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट यसअघि उपलब्ध सवारी पासलाई नै मान्यता दिने जनाइएको छ ।

अत्यावश्यक बाहेकका कामका लागि निस्किएको पाइए सुरक्षाकर्मीले सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्नेछन् । यो ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७