कैलालीको श्रीलङ्कामा १५ बिघा जमिन कटान


४ भाद्र २०७७, बिहीबार
SK Rajapur3 scaled

कैलाली, ४ भदौं । कैलालीको टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा नदी कटान गरेको छ । नदी कटान तीव्र भएपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्कामा कटान तीब्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दवाव दिन थालेका छन् ।

स्थानीय जनक बोहराले नदी श्रीलङ्कातर्फ फर्किएर यसवर्ष मात्रै १५ विघा जमिन कटान गरिसकेको बताए । ‘नदीको बर्दियातर्फ तटबन्ध निर्माण भएको छ । कैलालीको भाग बाँकी छ’, बोहराले भने, ‘दुई वर्षयता नदी कैलालीतर्फ बढी कटान गर्न थालेको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्का सक्ने त्रास सिर्जना भएको छ ।’

उनले वैशाखदेखि नै कटान शुरु गरेको नदीले यसवर्ष मात्रै १५ विघा जमिन कटान गरेकोले बस्ती विस्थापित हुने जोखिम बढेको बताए ।

‘श्रीलङ्कामा नदीमा पानीको बहाव बढ्दा पनि कटान हुन्छ, घट्दा पनि कटान हुन थालेको छ’, बोहरा भने, ‘वर्षेनीको कटानले नदीको बीचमा करिव ५०० विघा टापु बनेको छ । अहिले टापु रहेको ठाउँमा नदी बग्थ्यो, नदीले धार परिवर्तन गरेर स्थानीयको ५०० विघा जमिन प्रयोगविहीन भएको छ ।’

बोहराको पहिले श्रीलङ्कामा साढे ८ विघा जमिन थियो । वर्षेनिको कर्णालीको कटानले अहिले ३ विघामात्र बचेको छ । ‘एकातिर जमिन छैन, अर्कोतिर त्यहाँका नागरिकले जग्गाधनी पूर्जाअनुसारको सरकारलाई कर तिरिरहेका छन्’,, स्थानीय धनकला बुढाले भनिन्, ‘‘कर तिर्छौँ तर आफूले पाउनुपर्ने सेवा सुविधा केही पाइएको छैनौं ।’

अहिले नदीले बोहरासहित दिपेन्द्र भण्डारी, गोपाल साउँद, दिनेश बोहरा, चुलीराम चौधरी, प्रजिते साउँदलगायत नागरिकको जमिन कटान गरिरहेको छ । स्थानीय दिनेश बोहरा सरकारले नदी कटान रोक्नका लागि काम शुरु नगरे श्रीलङ्का गाउँ नै खतरामा पर्ने बताए ।

कर्णाली नदीको पूर्वपट्टी बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपट्टी कैलालीतिर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध गरिरहेको छ । श्रीलङ्का कैलालीको भूभाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ । त्यस क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ ।

त्यो क्षेत्रमा करिब २ हजार ३०० मिटर तटबन्ध गर्न बाँकी छ । त्यसमा अहिले अस्थायी तटबन्धको काम गर्दा राम्रो नहुने भएकाले स्थायी तटबन्धको लागि पहल भइरहेको आयोजनाका प्रमुख धर्मकुमार न्यौपानेले बताए । ‘आयोजनाले काम गरिरहेको छ’, आयोजना प्रमुख न्यौपानेले भने, ‘वर्षेनी काम हुन्छ, स्थायी तटबन्ध निर्माण गछौँ ।’

टीकापुर–५ शाहीपुरमा पनि कर्णाली नदीमा सिँचाइ आयोजनाले निर्माण गरेको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध वरिपरीको माटोमा चिरा पर्न थालेकाले नदी बस्ती पस्ने जोखिम बढेको हो । नदी बस्तीमा पसे टीकापुर नगरपालिका डुबानमा पर्ने देखिन्छ ।

शाहीपुरमा तटबन्ध भत्किएमा टीकापुरमा हजारौं परिवार डुबानमा पर्नुका साथै हजारौं विघा जमिन कटान र डुबानमा पर्ने भएकाले आयोजनालाई अस्थायीरुपमा भए पनि तटबन्ध गर्न आग्रह गरेको स्थानीय बडघर धर्मराज जैसीले बताए । ‘सिँचाइले तटबन्ध गरिरहेको छ । निर्माण कम्पनीले एकै वर्ष सक्नुपर्ने थियो’, जैसी भन्छन्, ‘हरेक वर्ष आधा–आधा काम गर्छन्, जसले थप बस्तीमा त्रास सिर्जना हुन्छ । आयोजनाले समयमै सक्न निर्देशन दिनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७