शून्य संक्रमित रहेको मनाङमा फेरि देखिए कोरोना संक्रमित


५ भाद्र २०७७, शुक्रबार
manang

मनाङ, ५ भदौं । कोरोना संक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ संक्रमित भेटिएका छन् । लामो समयदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा मोरङको विराटनगर र चितवनको भरतपुर घर भई मनाङमा कार्यरत दुई जनामा सङ्क्रमण भएको जनाइएको छ ।

विराटनगर घर भएका ५७ वर्षीय भरतपुरका ५१ वर्षीय सङ्क्रमण भएको विज्ञप्तिमा जनाइएको छ । यही भदौ २ गते १८ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा ती दुई जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुवराज आचार्यले जानकारी दिए ।

सङ्क्रमित हुनेमा भरतपुर नगरपालिका–११ घर भई मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभूत विद्यालयका शिक्षक र विराटनगर–११ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

ती सङ्क्रमितलाई जिल्लाको आइसोलेशनमा राखिएको छ । संक्रमित सबैको स्वास्थ्यलाभको कामना गर्दै प्रजिअ आचार्यले महामारीको परिस्थितिमा मनाङवासीलाई त्रसित नहुन तर सतर्क भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी उच्च मनोबलका साथै सतर्कतापूर्वक कार्य गर्न आग्रह गरेका छन् ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये दुईमा सक्रिय सङ्क्रमित शून्य थियो । प्रदेशका मनाङ र मुस्ताङमा यसअघि एकएक कोरोना सङ्क्रमित भेटिए पनि निको भएपछि कोरोनामुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७