दलितसँग विवाह गरेका कारण छोरीलाई बुबाको अन्तिम संस्कार गर्न नदिने तीन जना पक्राउ, अभियुक्त लैजान उपमेयरको गाडी


६ भाद्र २०७७, शनिबार
uapameyar gadi2020 08 22 02 09 09

इलाम, ६ भदौं । दलितसँग विवाह गरेका कारण छोरीलाई बुबाको मृत्युपछि अन्तिम संस्कार गर्न नदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम माई नगरपालिका– २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेकै कारण बुबा चन्द्रप्रसादको अन्तिम संस्कार गर्न नदिएको आरोपमा यामकलाका भाइ टीकाराम आचार्य, पार्वती आचार्य र छिमेकी लक्ष्मी दंगाललाई पक्राउ गरिएको हो । पक्राउ परेका टीकाराम र पार्वतीलाई अन्तिम संस्कार गर्न नदिएको र दंगालले मृत्युपछि यामकला बुबाको मुख हेर्न जाँदा अपमान गरेको आरोप छ ।

यामकलाको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीनकुमार राईले जानकारी दिए । उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाम लगिएको छ । पक्राउ परेका उनीहरूविरुद्ध जातीय छुवाछुतको अभियोगमा अनुसन्धान हुने उनले बताए ।

उनीहरूलाई जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको राईले बताए । १९ साउनमा मृत्यु भएका बुबा चन्द्रप्रसादको अन्तिम संस्कार दलितसँग विवाह गरेकै कारण सँगै बसेर गर्न नदिएको समाचार २२ साउनमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि दलित अधिकारकर्मीहरूले यो घटनालाई गम्भीरताका साथ लिएका थिए ।

अधिकारकर्मीकै सक्रियतामा उनीहरूविरुद्ध जाहेरी दर्ता भएको थियो । मृतक माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्यका जेठाजु हुन् । उपमेयरकै परिवारमा छुवाछुतको घटना भएको भन्दै अधिकारकर्मीले चासोका साथ हेरेका थिए । ‘यो घटना विभेद र अपमानको पराकाष्ठा हो ।

यस्ता घटनाले हाम्रो समाज कस्तो छ भन्ने देखाउँछ,’ दलित अधिकारकर्मी नवराज शंकरले भने, ‘जातीय विभेदको घटनाका पीडितले कमै न्याय पाउँछन् । तर, यो घटनाका पीडितले न्याय पाउँछन् भन्ने आशा छ ।’

यामकलाले १२ वर्षअघि माइती घरदेखि पाँच सय मिटर उत्तरका रत्नबहादुर विश्वकर्मासँग प्रेम विवाह गरेकी थिइन् । विवाहपछि नजिकै रहेका माइती पक्षले अहिलेसम्म उनलाई बोलाएका छैनन् ।

अभियुक्त लैजान उपमेयरको गाडी

उपमेयरको परिवारमा भएको यो घटनाका तीन अभियुक्तलाई लैजान उपमेयरले प्रयोग गर्ने माई नगरपालिकाको गाडी प्रयोग भएको छ ।

जिल्ला प्रहरी कार्यालयसम्म लैजान उपमेयर विष्णुमाया रिमाल आचार्यले प्रयोग गर्ने बा.१ झ ८३५४ को गाडी प्रयोग भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी राईका अनुसार खबर गरेपछि अभियुक्त आफ्नो हिसाबले आएको बताए ।

उपमेयर आचार्यले भने लकडाउनभरि प्रहरीलाई गाडी चलाउन दिएका कारण आफूलाई जानकारी नभएको बताइन् । ‘हामीले लकडाउनदेखि नै गाडी प्रहरीलाई प्रयोग गर्न दिएका हौं,’ उनले भनिन्, ‘नगरपालिकामा मैले प्रयोग गर्न गाडीमा लगेकै हो, तर दुरुपयोग भएको होइन ।’

तर, प्रमुख प्रशासकीय अधिकृत दीनानाथ लम्सालले प्रहरीलाई प्रयोग गर्न दिएकोबारे जानकारी नभएको बताए । ‘हामी सुरक्षाका लागि गाडी प्रहरी कार्यालयमै राख्छौँ । दिएको हो कि होइन मलाई थाहा छैन,’ उनले भने, ‘गाडी दुरुपयोग भएको विषय उपमेयरलाई नै बुझ्नुहोला ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७