नेपाल–भारत परराष्ट्रसचिव स्तरीय बैठकको तयारी, परामर्शका लागि भारतीय राजदूत दिल्लीमा


६ भाद्र २०७७, शनिबार
nepal india

काठमाडाैं, ६ भदौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ३१ साउनमा भएको टेलिफोन संवादपछि दुई देशका परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठकको तयारी सुरु भएको छ ।

ओली–मोदी टेलिफोन संवादको भोलिपल्ट नेपालमा भारतीय लगानीका परियोजनाको स्थिति पुनरावलोकन गर्ने संयुक्त अनुगमन संयन्त्रको बैठक बसेको छ । त्यसलगत्तै दुई देशका कूटनीतिक संयन्त्रहरू परराष्ट्रसचिवस्तरीय बैठकको तयारीमा जुटेका छन् । भारतीय राजदूत विनयमोहन क्वात्रा भने विदेश मन्त्रालयसँग आन्तरिक परामर्शका लागि बिहीबार दिल्ली पुगेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भने राजदूत क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि विदेशसचिव हर्षबर्धन श्रृंगलासँग परामर्शका लागि दिल्ली गएका हुन् । भारतका विदेशसचिव श्रृंगला बंगलादेश भ्रमणबाट बुधबारै दिल्ली फर्केका छन् । विदेशसचिव श्रृंगला परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन नेपाल आउने विषयमा राजदूत क्वात्राले छलफल गर्ने बुझिएको छ ।

परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘भारतीय राजदूत नेपाल सरकारसँग समन्वय गरेर दिल्ली गएका हुन् । प्रधानमन्त्रीको सन्देश लिएर उनी गएका हुन् भन्ने हाम्रो बुझाइ छ ।

उनी फर्केर आएपछि परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक बस्ने विषयमा थप तयारी होला ।’
राजदूत क्वात्रा दिल्लीबाट १० भदौमा फर्केपछि परराष्ट्रसचिवस्तरीय बैठकको तयारी हुने सरकारी स्रोतहरूले जनाएका छन् । ती अधिकारीले भने, ‘कोरोना महामारीको वेला राजदूत क्वात्रा स्थलमार्ग हुँदै गोरखपुर भएर दिल्ली जानु अर्थपूर्ण छ ।’

भारतले २६ वैशाखमा पिथौराढ–लिपु भन्ज्याङ लिंकरोड उद्घाटन गरेपछि नेपालले ५ जेठमा लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि नेपालले संविधान संशोधनमार्फत निसान चिह्नमा समेन तयाँ नक्सा प्रयोग गरेसँगै दुई देशको सम्बन्ध चिसिएको थियो ।

भारतले नेपालको नयाँ नक्सा जारी गर्ने कदमलाई भूगोलको कृत्रिम विस्तार भन्दै मान्य नहुने टिप्पणी गरेको थियो । भारतले लिपु भन्ज्याङ लिंकरोड उद्घाटनपछि कूटनीतिक नोटमार्फत परराष्ट्र सचिवस्तरीय वार्ताका लागि नेपालले प्रयास गर्दै आएको छ । भारतले असारमा पठाएको पछिल्लो जवाफमा कोभिड–१९ को महामारी सकिएसँगै वार्तामा बस्ने उल्लेख गरिएको छ ।

कोभिड–१९ को महामारीसँगै भारतीय विदेशसचिव श्रृंगलाको छिमेक भ्रमण सुरु भएको छ । उनले मंगलबार र बुधबार बंगलादेशको औपचारिक भ्रमणमा गएका छन् । सचिव श्रृंगलाले श्रीलंका, माल्दिभ्स, नेपाल र म्यानमारको भ्रमणलाई प्राथमिकतामा राखेको कूटनीतिक स्रोतहरूले जनाएका छन् ।

कालापानी र सुस्ताको विषयमा छलफलसँगै परिचयात्मक भ्रमणका क्रममा श्रृंगलाको नेपाल भ्रमणको तयारी भारतीय राजदूत फर्केलगत्तै सुरु हुने परराष्ट्र स्रोतले जनाएको छ । उनको भ्रमणभन्दा अघि नेपाल–भारत सीमा कार्य समूह (बाउन्ड्री वर्किङ ग्रुप)को बैठक बस्ने तयारी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ०७१ साउनमा भएको नेपाल भ्रमणका क्रममा परराष्ट्रसचिवहरूको संयन्त्रलाई आवश्यकता परेमा कार्य समूहले सुस्ता र कालापानीका विषयमा प्राविधिक सुझाब दिने निर्णय भएको थियो ।

कार्य समूहको बैठक दुई साताभित्रै हुने नापी विभागका एक अधिकारीले जानकारी दिए । कार्य समूहमा नेपालका तर्फबाट नापी विभागका महानिर्देशक तथा भारतका तर्फबाट देहरादुनस्थित सर्वे अफ इन्डियाका महानिर्देशक छन् ।

समूहले सुस्ता र कालापानीभन्दा बाहेकका सीमास्तम्भको रेखदेख, अनुगमन, मर्मतसम्भार तथा दशगजासहित दुवैतर्फ भएको अतिक्रमणको विवरण सरकारलाई बुझाउने कार्यादेश पाएको छ । समूहको समयावधि २०२२ सम्म तोकिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७