संसार ठग्ने ‘अमेरिकी ब्ल्याक डलर स्क्याम’को कनेक्सन नेपालसम्म


७ भाद्र २०७७, आईतवार
1 inside 2nd story.jpg .2020 08 22

काठमाडौं, ७ भदौं । अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापालाई केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सूचकले फेसबुक म्यासेन्जरमार्फत डलर आकारको एउटा कागजको टुक्रोको तस्बिर पठाए ।

तस्बिरसँगै ‘ब्ल्याक डलर स्क्याम’का एजेन्टले यस्तै कागज प्रयोग गरी ठगिरहेको सन्देश पनि थियो । त्यति बेला एसएसपी थापाले त्यसप्रति खासै चासो दिएनन् । सोल्टी होटेलबाट ३० साउनमा पक्राउ परेका मध्य अफ्रिकी मुलुक अंगोलाका नागरिक सिल्भा एन्टोनियो डा कोस्टा (४८ वर्ष) को कोठाबाट डलर आकारमा काटिएका कालो कागजका बन्डल फेला परेपछि मात्र एसएसपी थापा झस्किए ।

उनी तत्काल वेबसाइटमार्फत ‘ब्ल्याक डलर स्क्याम’को थप विवरण खोज्न थाले । सूचकले भनेजस्तै कागज प्रयोग गरी करोडौँ ठगी हुने गरेको तथ्य भटाभट फेला पारे । पक्राउ परेका सिल्भा सामान्य अभियुक्त नभएको निचोडमा उनी पुगे ।

सिल्भा बसेको ठमेलस्थित होटेलको कोठामा थप खानतलासी लिइयो । र, पर्दामा स्टिच लगाएर लुकाइराखेको अवस्थामा थप तीन लाख रुपैयाँ बरामद भयो । त्यसबाहेक ‘ब्ल्याक डलर’ धुन प्रयोग गरिने रसायनका बोतल, नक्कली नेपाली रुपैयाँ र अमेरिकी डलर भेटिए ।

‘सामान्य ठगी मुद्दामा उनलाई पक्राउ गरेका थियौँ, तर बरामद सामग्रीका आधारमा उनी सानातिना ठग होइनन् भन्ने पुष्टि भएको छ,’ एसएसपी थापा भन्छन्, ‘उनी ब्ल्याक डलर स्क्यामकै सदस्य जस्ता देखिन्छन् ।’

महाशाखाले उनीबाट बरामद कालो कागजका बन्डल र रसायन जस्तो देखिने झोल परीक्षणका लागि काठमाडौंस्थित अमेरिकी दूतावास पठाएको छ । दूतावासको रिपोर्ट प्राप्त भएपछि अनुसन्धानले नयाँ मोड लिने एसएसपी थापा बताउँछन् । भन्छन्, ‘शंका गरेकै कोणबाट रिपोर्ट आएमा नेपाल प्रहरीका लागि अनुसन्धानमा यो नयाँ अभ्यास हुनेछ ।’

‘ब्ल्याक मनी स्क्याम’लाई ‘ब्ल्याक डलर स्क्याम’ वा ‘वास वास स्क्याम’ पनि भनिन्छ । यो डलर आकारको कालो कागज देखाएर ठगी गर्ने तरिका हो । यसमा केही अमेरिकी डलर, रसायनजस्तो देखिने तरल पदार्थ र डलर आकारको कालो प्लास्टिकको कागज प्रयोग हुन्छन् ।

ठगले पीडितसम्म पुग्न सामाजिक सञ्जाल या इमेल प्रयोग गर्छ  । पुरस्कार परेको प्रलोभनमा ठगले पीडितको मन जित्छ । र, प्रलोभन देखाउँदै रकम असुलिरहन्छ । पीडितले आफू ठगिएको थाहा पाउन्जेलसम्ममा लाखौँ रुपैयाँ गुमाइसकेको हुन्छ । अमेरिका र युरोपेली मुलुक मात्र नभई चीन, जापान, हङकङ र भारतमा पनि यस्तो विधिबाट ठगी बढेको छ । ठगी धन्दामा संलग्न हुनेहरू अधिकांश अफ्रिकी मुलुकका नागरिक छन् ।
८० लाख ठगिसकेका थिए सिल्भाले

सिन्धुलीकी माया बस्नेत (नाम परिवर्तन) इन्स्टाग्राममा रमाइरहेकी थिइन् । सोही क्रममा मार्क अरोन नामक एक व्यक्तिसँग च्याटमा कुरा भयो । आफू लन्डनको बुपा क्यामवाल अस्पतालको चिकित्सक भएको र नेपाल आएर विवाह गर्न चाहेको बताउँदै मार्क मायासँग गफिन थाले ।

गफमा भुलेकी मायालाई मार्कले गिफ्ट र केही युरो पठाएको बताउँदै हीराको औंठी, घडी र सुनका गहनाका तस्बिर इन्स्टाग्राममा पठाउन थाले । माया मक्ख पर्नु स्वाभाविकै थियो । केही समयपछि गिफ्ट भारत आइपुगेको र भन्सारबापतको रकम तिर्नुपर्ने बताउँदै अपरिचित व्यक्तिबाट मायालाई फोन आयो ।

मायाले पटक–पटक गरी ४८ लाख ५४ हजार रुपैयाँ भारत पठाइदिइन् । गिफ्ट नेपालको भन्सारमा आएको र भन्सार महसुल तिर्नुपर्ने खबर फेरि आयो । यसपटक भने उनीसँग २० लाख रुपैयाँ मागियो । र, होटेल एभरेस्टमा बोलाइयो । होटेलमा सिल्भा भेटिए ।

तर, उनले त्यहाँ रकम लिएनन् । बागबजार हुँदै उनलाई सिल्भाले सोल्टी होटेल पुर्‍याए । २० लाख रुपैयाँ लिन खोज्दै गर्दा उनीहरूलाई पछ्याउँदै आएका प्रहरीले सिल्भालाई रंगेहात पक्राउ गर्‍यो । अनुसन्धानपछि मात्र उनले सोही विधि अपनाएर विभिन्न व्यक्तिसँग ८० लाख रुपैयाँ ठगिसकेको खुल्यो ।

‘माया मात्र होइन, अरूलाई पनि ठगेको भेटियो । पीडित आउने क्रम बाँकी छ । ठगिएको रकमको परिमाण अझ बढ्न सक्छ,’ अनुसन्धानमा संलग्न महाशाखाका एसपी होबिन्द्र बोगटी भन्छन् ।

ठगीमा अमेरिकी नागरिक पनि

सेक्युरिटी कार्यालय चलाइरहेका भक्तपुरका सूर्यविनायक–६ का टुकनारायण श्रेष्ठको भेट अमेरिकी नागरिक डेनियल ली म्यागसँग भयो । लीले सेक्युरिटी कार्यालय अमेरिकामा पनि दर्ता गरिदिने प्रलोभन दिए ।

अमेरिकामा कम्पनी दर्ता गर्न पाउने लोभमा श्रेष्ठ परे । डेनियलले त्यसका लागि शुल्क लाग्ने बताउँदै १० लाख रुपैयाँ मागे । श्रेष्ठले पनि डेनियलले भनेजति रकम दिए । डेनियल बेपत्ता भएपछि मात्र श्रेष्ठले आफू ठगिएको थाहा पाए ।

डेनियलको ठगी त्यतिमै सीमित थिएन । सुजन थापा र सन्दीप कार्कीलाई पनि अमेरिका लैजाने प्रलोभन दिए । र, उनीहरूसँग पाँच लाख रुपैयाँ मागे । यसपटक भने डेनियलको योजना सफल भएन । १८ साउनमा काठमाडौं क्षेत्रपाटीबाट उनी पक्राउ परे ।

बढ्दै विदेशी नागरिकबाट हुने अपराध

लकडाउनको अवधिमा अपराध गर्ने विदेशी नागरिक धेरै पक्राउ परेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्की बताउँछन् । ‘विशेषगरी विदेशी नागरिक ठगी धन्दामा बढी संलग्न पाइएको छ,’ उनी भन्छन् ।

विगतमा लागुऔषध मुद्दामा विदेशी नागरिक बढी पक्राउ पर्थे । केही वर्षयता भने बैंकिङ कसुर, ठगी, बालयौन दुराचार, वन्यजन्तुका अंग तस्करी, एटिएम ह्याकिङलगायत अपराधमा संलग्नता बढेको छ । र, पक्राउ पर्ने विदेशी नागरिकको संख्या बर्सेनि बढ्दो छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत पनि पछिल्ला वर्ष नेपालमा विदेशी नागरिक अपराधमा संलग्न हुने क्रम बढेको बताउँछन् । ‘ट्रेन्ड विश्लेषण गर्दा आर्थिक अपराधमा बढी संलग्नता देखिन्छ,’ उनी भन्छन्, ‘चाँडै विश्वास गर्ने र चाँडो पैसा कमाउन खोज्ने प्रवृत्ति यहाँ देखेर पनि विदेशी नागरिक नेपालमा अपराधमा संलग्न भएका हुन सक्छन् ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७